News

छिमेकीको जग्गा कब्जा गरेपछि द्वारिकलाल फेरी विवादमा

छिमेकीको जग्गा कब्जा गरेपछि द्वारिकलाल फेरी विवादमा

नेकपा एमालेमा छँदा पत्रकारको नाकको डाँडी भाँच्ने अभिब्यक्ति दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा पसेपछि ब्यक्तिको जग्गा हडपेर चर्चामा आएका छन्।

मेयर छँदा सदावहार विवादमा परेका उनलाई एमालेले टिकट नदिएपछि माओवादीमा पसेर सुनसरी २ (क) को प्रदेशसभा उम्मेदवार भएका छन्। अहिले उनी छिमेकीको जग्गा कब्जा गरेर पोखरी खनेको कारणले विवादमा परेका छन्।

जानकारी अनुसार इटहरी–१७ लबीपुर चोकमा घर भएका चौधरीले छिमेकी प्रदीपकुमार खतिवडाको एक कट्ठा जग्गा कब्जा गरेर माछा पालन गरेका छन्। जग्गा किनेर छोडेका खतिवडा भने अहिले नगरपालिका र न्यायपालिका धाउँदै हैरान छन्।

कित्ता नम्बर ६०६ को उक्त जग्गा लबीपुरमा घर बनाउने पैसा अभाव भएपछि २०६३ साल जेठ १ गते द्वारिकालालका बुवा नानुराम चौधरीले नै खतिवडालाई बिक्री गरेका थिए। द्वारिकलालले सोही जग्गा हडपेको आरोप छ। खतिवडाले उक्त जग्गा बैंकमा धितो राखेर कर्जा समेत लिएका छन्।

केही समय अगाडि जग्गा हेर्न जाँदा आफू आश्चर्यमा परेको प्रदीपका छोरा अनमोलले बताए। चौधरीलाई फोन गर्दा फोन पनि नउठाउने र पोखरी पुर्न आग्रह गर्दा नमान्ने गरेपछि अनमोलले भदौ २७ गते इटहरी उपमहानगरपालिकामा निवेदन दिए।

तर, इटहरी उपमहानगरपालिकाले बेवास्ता गरेको उनको भनाई छ। चौधरीले भने खाली रहेको जग्गामा माछा पाल्छु भन्दा चौतर्फी घेराबन्दि गरेको भन्दै उल्टै गुनासो गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्–‘खाली रहेको जग्गामा पोखरी बनाएर माछा पाल्छु भन्दा मलाई चौतर्फी घेराबन्दि गरियो। उस्को जग्गा मैले बोकेर गएको छैन, अरुलाई बेचेको छैन । खाल्टो पछि पुर्दिन्छु भनेकै छु ।’

द्वारिकलाल चौधरी

विशेष