News खेल

पौडीमा गौरीकाको किर्तिमान तोड्ने डुआना को हुन्?

पौडीमा गौरीकाको किर्तिमान तोड्ने डुआना को हुन्?

नेपाली खेलकुद महोत्सवमा पनि पौडी खेलाडीको दबदबा हरेकपटक देखिने गरेको छ । जारी नवौँ संस्करणमा पनि यसले निरन्तरता पाएको छ । त्यसमा पनि गौरिका सिंहजस्ती दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता र अमेरिकामा बस्दै आएकी एश्ले सापकोटा डंगोललाई उछिन्दै डुआना लामाले ९ स्वर्ण प्राप्त गरेकी छिन् ।

गौरिकाको विगतको राष्ट्रिय कीर्तिमान तोड्न सफल डुआना नेपाली पौडीकी नयाँ अनुहार होइनन् तर पछिल्ला ६/७ वर्षयता नेपाली पौडीमा एकछत्र राज गरेकी गौरिका स्वयम सहभागी रहेको प्रतियोगितामा ९ स्वर्ण पदक जित्नु डुआनाका लागि चानचुने कुरा होइन । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई प्रतिनिधित्व गरिरहेकी डुआनाले जितेका ९ स्वर्ण ६ व्यक्तिगत र तीन टिम स्पर्धामा हुन् । उनले एक कांस्य पदक पनि जितेकी छन् ।

डुआनाले धेरै स्पर्धामा आफ्नै कीर्तिमान सुधारिन् भने एउटा स्पर्धा उनका लागि सम्झनलायक रह्यो । २ सय मिटर व्यक्तिगत मिड्लेमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै उनले आफ्नो नाम ‘रेकर्ड बुक’मा लेखाइन् । गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा बनाएको २ मिनेट ३२ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै डुआनाले २ मिनेट ३०.६७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् । त्यो उपलब्धि उनलाई विशेष लाग्छ ।

‘गौरिकाको कीर्तिमान तोड्छु भनेर सोचेकी पनि थिइँन । तर, राम्रो गर्छु भन्ने अठोट चाँही थियो । तर, उसलाई जितेको थाहा पाएपछि म ‘सर्प्राइज्ड’ भएँ । सबै रेकर्ड गौरिकाकै नाममा थियो । सानैदेखि हामी सँगै खेलेको हो । उ एकदमै छिटो छ,’ डुआनाले खुसी लुकाउन सकिनन् । नेपालको परिवेशमा सबै खेलाडी राम्रो भए पनि गौरिकालाई उनी आफ्नो प्रतिद्वन्दी मान्छिन् । पहिलैदेखि गौरिका जस्तै हुने आफ्नो इच्छा रहेको उनले सुनाइन् ।

डुवानाले आठौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित ५ स्वर्ण जितेकी थिइन् । डुआनाले सन् २०१८ मा १२ वर्षको उमेरमा सिंगापुरमा भएको फिना पौडी विश्वकपमा भाग लिँदा कीर्तिमानी प्रदर्शन गरेकी थिइन् । सिंगापुरमा उनले महिला ५० मिटर ब्रेस्टस्टेकमा (३५.८२ सेकेन्ड) तथा १ सय मिटर ब्रेस्टस्ट्रोकमा (१ मिनेट १६.९९ सेकेन्ड) नयाँ राष्ट्रिय कीतिमान बनाएकी थिइन् ।

५-६ वर्षको उमेरदेखि  सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी धाउन थालेकी डुवाना यतिबेला राष्ट्रिय खेलकुद महोत्सवमा छाएकी छिन्। एक्ली सन्तान डुआनाका लागि देशमा अभ्यास गर्न उपयुक्त पोखरी नहुँदा आमाबाबुले जाडो महिनामा थाइल्यान्डमा र गर्मीमा नेपालमा बसेर अध्ययन तथा पौडी जीवन अगाडि बढाउने वातावरण मिलाइदिएका छन् ।

त्यसैले उनका पिता मुखिया लामा र आमा मेरी लामा अहिले डुआनाभन्दा बढि खुसी छन् । डुआनाको खेलकै लागि भनेर पोखरा आएका उनीहरुलाई छोरीको उपलब्धिमा गर्व छ ।

सात वर्षको उमेरमै जुनियर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी डुआना आइरिस आमा र नेपाली बुवाका छोरी हुन् । बुवा मुखिया नेपाली फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लबका पदाधिकारी हुन् । उनको घर मनाङ हो । ‘पहिला यहा ट्रेनिङ गर्न गाह्रो थियो । अझै पनि गाह्रो नै छ।  त्यसैले मेरो प्रशिक्षकले बाहिर जाउ उतै राम्रो हुन्छ भनेपछि प्यारेन्टसले मलाई त्यहाँ लानुभयो,’ डुवानाले भनिन्, ‘मेरो लागि सबभन्दा ठूलो प्रेरणाको स्रोत उहाँहरु नै हो । त्यसपछि म आफै हुँ ।’

पौडी

विशेष