News

दिनदहाडै गोली चलाएर सहकारीमा लुटपाट, ४ गोली लागेका कर्मचारीलाई काठमाण्डौ पठाईयो  

दिनदहाडै गोली चलाएर सहकारीमा लुटपाट, ४ गोली लागेका कर्मचारीलाई काठमाण्डौ पठाईयो  

सर्लाहीको वागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थामा दिनदहाडै गोली चलाएर लुटपाट गरिएको छ। 

मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा बुधबार बिहान १० बजेतिर लुटपाट भएको हो। लुटेराहरुले प्रहार गरेको गाली लागेर केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षिय साजन कार्की घाईते भएका छन्।

तीनजनाको समुहमा आएका लुटेराले कार्कीलाई पैसा दिन धम्क्याएपछि उनले प्रतिकार गरेका थिए। त्यसपछि लुटेराले उनीमाथि गोली प्रहार गरेको जनाईएको छ। घाइते कार्कीका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए ।

कार्कीलाई पाखुरा, तिघ्रा, कुम र कोखामा गरी चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । उनको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालका डा. राजिव साहले बताए ।

घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएको स्थानीयले बताएका छन्। बिहान १० बजे कार्यालय खोल्नासाथ आएका लुटेराले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको समेत आशंका छ । मंगलबार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान र संलग्नको खोजि गरीरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लुटपाट

विशेष