News

कारवाहीबाट वच्न ‘ढिट’ गर्दै माधव नेपाल, पार्टी कार्यालयले पत्र बुझ्नै मानेन

कारवाहीबाट वच्न ‘ढिट’ गर्दै माधव नेपाल, पार्टी कार्यालयले पत्र बुझ्नै मानेन

निर्वाचन आयोगको कारवाहीबाट वच्ने नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ढिट गर्न थालेका छन् । फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएर मतदाता प्रभावित वनाएको भन्दै निर्वाचन आयोगले सोधेको स्पष्टिकरण पत्र उनको पार्टी कार्यालयले वुझ्न अस्विकार गरेको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई स्पष्टीकरण दिन पठाएको पत्र पार्टी कार्यालयले नबुझी आयोगमै फिर्ता पठाइदिएको छ । आयोगले नेता नेपाललाई सम्बोधन गरेर पत्र पठाएको थियो। पार्टी कार्यालयले बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकमार्फत र पार्टीलाई इमेलमार्फत पठाउने तयारी गरेका जनाईएको छ।

रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी नेपालले वक्तव्य दिएका थिए। ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भन्दै वक्तब्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।

आयोगले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।

विशेष