News

दाताबाट मृगौला झिकिसकेपछि ‘विरामीलाई मिल्दैन’ भन्दै डाक्टर फरार

दाताबाट मृगौला झिकिसकेपछि ‘विरामीलाई मिल्दैन’ भन्दै डाक्टर फरार

मिर्गौला प्रत्यारोपणका लागि दाताको शरीरबाट मिर्गौला झिकेर ठिक पारेपछि ‘प्रत्यारोपण गर्न नमिल्ने’ भन्दै चिकित्सकहरु सम्पर्क विहिन भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा विहिवार तनाव उत्पन्न भएको छ।

चिकित्सकहरु विरामीको शरीरमा मृगौला प्रत्यारोपण नै नगरी विरामी र आफन्तलाई जानकारी नै नगराई हिडेका थिए। उक्त घट्ना अनुसन्धान गर्न समिति गठन भएको छ। जानकारी अनुसार अस्पतालका प्रत्यारोपण सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले धादिङकी एकजना ३२ वर्षीया महिलाको गत मंगलबार मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए।

उनलाई आफ्नै सासुले मिर्गौला दिने भएपछि उनको सबै परीक्षण गरी मिर्गौला निकालिएको थियो। तर मिर्गौला झिकेपछि भने बिरामीलाई त्यो मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भन्दै चिकित्सकहरु त्यहाँबाट हिडेका थिए।

बिरामी तथा बिरामीका आफन्तलाई कुनै जानकारी नै नदिई उनीहरु हिँडेपछि बिरामीका आफन्त आन्दोलित भए। उनीहरु अस्पतालका निर्देशकको कक्षमा पुगेका थिए। त्यसपछि अस्पतालले घट्नाको छानविनका लागि समिति गठन गरेको हो।

अस्पतालका अनुसार दाताको शरीरबाट झिकेको मिर्गौला खेर गएको छ भने बिरामी र दाता दुवैको स्वास्थ्य राम्रो रहेको जनाईएको छ।     

घट्ना छानविनका लागि अस्पतालका सिनियर सर्जन डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, रेडियोलजी विभागका प्रमुख डा. सरोज शर्मा, सिटिभिएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा.ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन्।

समितिलाई छानबिन गरि प्रतिवेदन पेश गर्न २ साताको समय दिइएको अस्पतालका निमित्त निर्देशक प्राडा भूपेन्द्रकुमार बस्नेतले बताए।

विशेष