News

कमेडियन अपुर्व अदालतबाट छुटे, अदृष्य दवावमा परेको भन्दै प्रहरीको आलोचना

कमेडियन अपुर्व अदालतबाट छुटे, अदृष्य दवावमा परेको भन्दै प्रहरीको आलोचना

काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई रिहा गर्न आदेश दिएको हो।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियो। 

जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा उनी विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।

सिंहले भने आफ्नो उद्देश्य हँसाउनुबाहेक अरु नभएको बयान दिएका थिए। १० भदौ २०७९ मा नेवाःको परम्परा शीर्षकमा युट्युब भिडियो अपलोड गरेको तर भिडियोको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विरोध भएपछि भोलिपल्ट नै युट्युबबाट हटाएको उनले न्यायाधीशसमक्ष बताएका छन् ।

भिडियोमा प्रयोग भएका शब्दहरु मनोरञ्जनका लागि मात्रै प्रयोग गरेको उनको भनाई छ। अपूर्वले भिडियोमा नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रहनसहनसमेतलाई अमानवीय व्यवहार गरेको भन्दै पृथविन्द महर्जनसहित ११ जनाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा संयुक्त निवेदन दिएका थिए ।

निवेदनपछि प्रहरीले उनलाई पहिलो पटक पक्राउ गरेर झण्डै दुई साता हिरासतमा राखेको थियो । तर, भिडियो डिलिट गर्दा पनि प्रतिसोध साँधेर हिरासतमा राखिएको भन्दै विरोध भएपछि जाहेरीकर्ता र सिंहको परिवारबीच छलफल भएको थियो ।

यसैबीच अपूर्वलाई ०७९ भदौ २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यसपछि सरकारी वकिलको रोहबरमा छाडिएको थियो । तर, असोज ३१ गते उनलाई प्रहरीले पुनः पक्राउ गर्यो। एउटै निवेदनमा अपुर्वलाई पटक पटक पक्राउ गरेपछि प्रहरीको तिव्र आलोचना भएको थियो।

अपूर्व क्षितिज सिंह

विशेष