सहकारीका कर्मचारीमाथि गोली चलाएर लुटपाट गर्ने ४ जना पक्राउ
![सहकारीका कर्मचारीमाथि गोली चलाएर लुटपाट गर्ने ४ जना पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/sahakari.jpg)
सर्लाहीको एक सहकारीमा कर्मचारीमाथि गोली चलाएर लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनीलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुलाई बुधवार मध्यराति पक्राउ गरेको हो। प्रहरीलाई देखेपछि उनीहरु भाग्न खोजेका थिए । त्यसपछि गोली चलाएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर धनकौलका सहनी घाईते भएका छन्।
प्रहरीले उनीहरुको साथमा हातहतियार भने बरामद गरेको छैन। बुधवार विहान साढे १० वजे सर्लाहीको वागमतीस्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा गोली चलेको थियो।
भारतीय नम्वरको मोटरसाईकलमा आएका तीन जनाले केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षिय साजन कार्कीलाई गोली हानेर घाईते बनाई लुटपाट गरेका थिए। कार्कीलाई पाखुरा, तिघ्रा, कुम र कोखामा गरी चार वटा गोली लागेको छ।