News Technology

नाबालक ह्याकर जसले पत्ता लगाइदिन सक्छन् तपाइको फेसबुक पासवर्ड

नाबालक ह्याकर जसले पत्ता लगाइदिन सक्छन् तपाइको फेसबुक पासवर्ड

 विशेषगरी संसारमा दुई प्रकारका ह्याकर हुने गर्छन् । एउटा ह्वाइट ह्याट ह्याकर र अर्को ब्याक ह्याट ह्याकर । ह्वाइट ह्याट ह्याकर त्यस्तो ह्याकर हुन्, जसले कुनै पनि व्यक्ति वा संघ संस्थाबाट अनुमति लिएर उनीहरूको सिस्टममा भएको कमजोरी पत्ता लगाउँछन् । उनीहरूले पत्ता लगाएको कमजोरी वापत उनीहरूलाई ती संस्थाले सम्मान दिने गर्छन् । ह्वाइट ह्याट ह्याकरलाई इथिकल ह्याकर भनेर पनि बुझिन्छ ।


त्यस्तै अर्को हुन्छन् ब्ल्याक ह्याट ह्याकर । यी त्यस्ता ह्याकर हुन्, जसले गोप्य रूपले सिस्टम वा अकाउन्ट ह्याक गरी सम्बन्धित व्यक्ति वा संस्थालाई नोक्सानी पुर्‍याउँछन् ।

ह्याकरको परिकल्पना गरिरहँदा हाम्रो मानसपटलमा युवा उमेरकाे व्यक्ति आउने गर्छ । वास्तवमा ह्याकर हुनलाई न पढाइले छेक्छ, न त उमेरले नै । यसको उदाहरण हुन् अमेरिकास्थित टेक्सासका यी १६ वर्षीय बालक । जसले तपाईँको पासवर्ड कसरी पाउन सकिन्छ भन्ने कुराको सबै जानाकरी छ ।

‘रूबेन पाउल’ नाम भएका यी बालकले आफूलाई ११ वर्षको उमेरदेखि नै 'साइबर निन्जा'काे नामबाट चिनाइरहेका छन् । उनी साइबर सुरक्षाको विषयमा जनचेतना दिन विभिन्न देशमा यात्रा गरिरहेका हुन्छन् । हामीले दैनिक रूपमा प्रयोग गरिरहने वाई-फाई तथा ब्लुटुथ कनेक्सनमा निकै ठूलो सुरक्षा कमजोरी रहेको उनको भनाइ छ ।

उनी भन्छन्, "मलाई थाहा नभएको सार्वजनिक वाई-फाईमा म आफ्नो डिभाइस कहिल्यै कनेक्ट गर्दिनँ । जोकोहीले पनि उक्त वाई-फाई नेटवर्क ह्याक गरेर आफ्नो जालो फालेका हुनसक्छन् ।"

उनले आफूसँग भएको ब्लुटुथ टेडी बियरलाई ह्याक गरेर गोप्य कुराहरू भण्डारण गर्ने डिभाइसमा परिणत गरेका छन् । "म यो टेडी बियरलाई आफ्नै कम्प्युटरबाट अन गरिदिन सक्छु ।"

यी 'साइबर निन्जा'लाई एनएसए वा एफबीआईका लागि काम गर्ने इच्छा छ । जसले गर्दा थुप्रै मानिसहरूलाई साइबर आक्रमणबाट बचाउन सकिने उनको विश्वास छ ।

उक्त ब्लुटुथ विभिन्न स्वचालित कार, स्वचालित ड्रोन र मेडिकल डिभाइसमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ । निन्जाले विभिन्न ठाउँबाट अवसरहरू पाइरहेका छन् ।

उनी भन्छन्,  ''मैले नेदरल्याण्डको सरकारबाट अवसर पाइसकेको छु, त्यस्तै रक्षा विभागबाट समेत अवसर आइरहेका हुन्छन् ।"

सानै उमेरमा साइबर सुरक्षा सम्बन्धी ज्ञान र सीप जानेका निन्जा कङ्फुमा दोस्रो श्रेणीका ब्ल्याक बेल्ट होल्डर पनि हुन् ।

उनीसँग अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीबीएस पत्रकार डेभिड बेगनाउडले अन्तर्वार्ता लिएका थिए । लाइभ अन्तर्वार्तामा नै निन्जाले डेभिडको आधिकारिक ट्वीटर अकाउन्टको पासवर्ड पत्ता लगाएका थिए । 

विशेष