News

चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन समापनमा हलबाट निकालियो पूर्वराष्ट्रपति हु जिन्ताओलाई 

चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन समापनमा हलबाट निकालियो पूर्वराष्ट्रपति हु जिन्ताओलाई 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय सम्मेलन शनिबार बेइजिङमा समापन भएको छ ।

सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि पार्टी महासचिव चुनेको समापन समारोहमा पूर्वराष्ट्रपति हु जिन्ताओलाई भने हलबाट निकालिएको छ । 


हु जिन्ताओ सन् २०१२ मा चिनफिङ महासचिव चुनिनुअघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए। ७९ वर्षका उनी गत आइतबार सुरू भएको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा पनि सहभागी थिए । 

समाचार संस्था रोयटर्सका अनुसार अधिवेशनको अन्तिम दिन शनिबार ग्रेट हल अफ द पिपलमा हु जिन्ताओ सीको बाँयातिरको सिटमा बसेका थिए । त्यहीबेला दुई जना पुरूषहरू आएर उनलाई सिटबाट उठाएर लैजान्छन् । 


समाचार संस्था एएफपीले खिचेको भिडिओमा सुरूमा एक जना पुरूषले केही भनेर सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मानिरहेका हुँदैनन् । केहीबेरको प्रयासपछि उनी सिटबाट उठ्छन् । जाने बेलामा उनले सीलाई केही कुरा भन्छन् र छेऊमा बसेका प्रधानमन्त्री ली खछ्याङको काँधमा धाप मार्छन् । 

त्यसपछि उनलाई दुई जना पुरूषहरूले हलबाट बाहिर लिएर जान्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव जिन्ताओलाई आज किन हलबाट बाहिर निकालिएको भन्नेबारे अधिकारीहरूले केही जानकारी दिएका छैनन् ।

विशेष