News

रेखा थापालाई पनि फकाउन खोजेका थिए ओलीले

रेखा थापालाई पनि फकाउन खोजेका थिए ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई एमालेको सहयोगमा चुनाव लड्न प्रस्ताव गरेको विषय आज सार्वजनिक भयो। वाग्ले स्वयमले आज एक कार्यक्रममा त्यो कुराको खुलासा गरेका हुन।

वाग्ले मात्रै होईन, ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध चर्चित अभिनेत्री रेखा थापालाई समेत एमालेमा भित्र्याउने प्रयास गरेका थिए। अध्यक्ष ओलीले गत भदौ दोस्रो साता रेखालाई आफ्नै निवास बालकोटमा बोलाएर एमालेमा आउन प्रस्ताव गरेका थिए।

एमालेमा प्रवेश गरेर मोरङमा निर्वाचन लड्न ओलीले गरेको आग्रह उनले अस्विकार गरेकी थिईन। प्रस्ताव अस्वीकार भएपछि ओलीले राप्रपासँग चुनावी तालमेल हुने भएकाले रेखालाई मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न संकेत गरेका थिए।

तर, रेखा एमालेसँगको चुनावी तालमेल बिनै मोरङ ३ बाट राप्रपाको उम्मेदवार बनेकी छिन् । रेखा थापाको जन्मस्थान यही निर्वाचन क्षेत्र अन्तर्गत सलकपुरमा पर्छ। अहिले उनले चुनावी कार्यक्रम मात्र होईन, घर घरमा पुगेर मतदाताको मन जितिरहेकी छिन्। उनको सकृयताले स्थानीय चुनावमा राम्रो मत पाएको एमाले चुनौती महसुस गरिरहेको छ।

यो क्षेत्र ०७४ सालमा एमाले नेता भानुभक्त ढकालले जितेको र कांग्रेसका नेता सुनिल शर्मा पराजित भएको क्षेत्र हो। यस वर्ष पनि उनै ढकाल र शर्मा उम्मेदवार छन्। पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैचा नगरपालिका र कानेपोखरी गाउँपालिकालाई समेटेर बनेको निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघि एमाले नेता ढकालले ४२ हजार ४ सय १३ मत पाएका थिए भने कांग्रेसका सुनिल कुमार शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए। 

स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा मोरङ ३ मा राप्रपा चौंथो स्थानमा छ। यहाँ नेकपा एमालेले ३७ हजार ४ सय १० मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार ९ सय १६ र नेकपा माओवादी केन्द्रले ७ हजार ३ सय ७३ मत पाएको छ। राप्रपाको वडागत मत २ हजार १ सय २१ छ ।
यो पनि,

रेखा थापा

विशेष