बझाङमा दलित शिक्षकलाई छुट्टै राखेर खाना खुवाइएको हो? यस्तो छ वास्तविकता
बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ स्थित नारायण माविको प्राङ्गणमा शिक्षकहरू खाना खाइरहेका छन् । नौ जना शिक्षकहरू विद्यालय प्राङ्गणमा बसेका देखिन्छन् । आठ जना शिक्षक गोलो घेराभन्दा बाहिर एक जना छन् । उनी विद्यालयमै कार्यरत शिक्षक अफिलाल ओखेडा हुन् । विद्यालयको आवधिक परीक्षा सकिएपछि शिक्षकहरूले विद्यालयमै भोजन गरेका थिए । सोही बेला एकजना शिक्षकले फोटो खिचेर सामाजिक सञ्जालमा राखे । उक्त तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दलित शिक्षकलाई गैह्र दलित शिक्षकले छुट्टै राखेर खाना खुवाएको भन्दै उक्त विषयको आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा चर्चामा रहेको तस्वीरको बारेमा हामीले दुर्व्यवहार गरिएको भनिएका शिक्षक अफिलाल ओखेडासँग बुझेका छौँ । नेपाल आजसँग कुरा गर्दै ओखेडाले सामाजिक सञ्जालमा चर्चा भएजस्तो वास्तविकता नभएको बताएका छन् । घटनाको वास्तविकता नबुझि आफू जोडिएको तस्विरको गलत अर्थ लगाइएको भन्दै ओखेडाले आपत्ति जनाएका छन् ।
‘विद्यालयको परीक्षा समापन भएपछि सबै जना शिक्षकहरू खाना खाइरहेका थियौँ । सबै जना चौरमा बसेर खाना खाइरहेको बेला हाम्रै एकजना साथीले फोटो खिचेर सामाजिक सञ्जालमा राख्नु भएको रहेछ । सोही फोटोलाई अन्य व्यक्तिहरूले गलत अर्थ लगाइ भ्रम फैलाएछन्,’ ओखेडाले भने ।
विद्यालयमा शिक्षकबाट दुर्व्यवहार नभएको शिक्षक ओखेडाले प्रस्ट्याए । ‘मैले विद्यालयका शिक्षकहरुबाट त्यस्तो दुर्व्यवहार महसुस गरेको छैन । हाम्रो विद्यालयमा काम गर्ने परिचर राकेश विक पनि दलित नै हुन् । परिचरले ल्याएको पानी सबै शिक्षकले पिउँछन्,’ विद्यालयमा काम गर्ने कार्यालय सहयोगी नै दलित भएको भन्दै कुनै पनि शिक्षकले जातीय दुर्व्यवहार नगरेको जिकिर गरे ।
विद्यालयमा जातीय विभेद नभए पनि गाउँघरमा भने अझै दलितलाई दोस्रो दर्जाको व्यवहार गरिने ओखेडा बताउँछन् । ‘गाउँघरमा बिहेबारी, मेला, पर्वमा अझै विभेद हुन्छ । बिहेको घरमा हामीलाई प्रवेश गर्न दिइदैन । सबै शिक्षकहरू सँगै गएपनि मलाई घरबाहिरै राख्ने गरिन्छ,’ ओखेडाले भने ।
विद्यालयमा प्रधानाध्यापक ऐनबहादुर सिंहले पनि दलित शिक्षकलाई दुव्र्यवहार नगरिएको बताएका छन् । आफू छुट्टीमा भएपनि विद्यालयको वातावरण विभेदकारी नभएको सिंहको भनाइ छ । उनी भन्छन्, ‘म केही समयदेखि बिदामा काठमाडौँ आएको छु । अफिलाल सर त्यहाँ लामो समयदेखि कार्यरत हुनुहुन्छ । हाम्रो विद्यालयमा दलित र गैह्र दलित शिक्षकविच विभेद हुने खालको वातावरण छैन,’ सिंहले भने ।
‘विभेद वा दुर्व्यवहार भएको मैले महसुस गरेको छैन । सामाजिक सञ्जालमा मलाई जबर्जस्ती विभेदित बनाइदैछ । यसमा मेरो आपत्ति छ,’ शिक्षक ओखेडाले आफ्नो तस्विर दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् ।
बझाङमा दलित दुर्व्यवहार