News

‘मिटरब्याज’मा एमाले नेताको लगानी, यसरी जोडियो पर्शुराम वस्नेतको नाम

‘मिटरब्याज’मा एमाले नेताको लगानी, यसरी जोडियो पर्शुराम वस्नेतको नाम

केही समय अघिसम्म गुण्डा नाईकेका रुपमा चिरपरिचित मोरङका एमाले नेता पर्शुराम वस्नेत ‘मिटरब्याज’ को लगानीका कारण फेरी चर्चामा आउन थालेका छन् । युवासंघ विराटनरका अध्यक्ष किरण लामाको घरमा बन्धक वनाईएका एक युवकलाई शुक्रवार प्रहरीले मुक्त गराएपछि वस्नेतको नाम चर्चामा आएको हो।

पाञ्चालीस्थित लामाको घरमा बन्धक बनाएर राखिएको अवस्थामा विराटनगर ८ का नोबल यादवलाई प्रहरीले उद्धार गरेको थियो। जानकारी अनुसार लामाले यादव र उनका एक जना साथीलाई घरमा वन्धक वनाई कुटपिट समेत गरेका थिए।

सोही क्रममा यादवका साथी उम्किएर भागेको र उनले प्रहरीलाई सम्पुर्ण वेलिविस्तार लगाएपछि प्रहरीले यादवको पनि उद्धार गरेको थियो। प्रहरीले लामालाई भने पक्राउ गरेको छैन। प्रहरीले मुक्त गराएका यादवका लामाले उनलाई ५ लाख रुपैयाँ ऋण दिएका थिए। उक्त रकमको सावाँ ब्याज तत्काल वुझाउन दवाव दिएको र भने जस्तो नभएपछि आफुलाई बन्धक वनाएर कुटपिट गरिएको उनको गुनासो छ।

‘हामीले ५ लाख रूपैयाँ चलाएका थियौं। दिउँसो १२ बजेतिर फोन गरेर घरमा बोलाए’ यादवले भने–‘पुगेपछि उनले तुरून्तै पैसा तिर्न दवाव दिए। तत्कालै तिर्न नसक्ने भनेपछि हामीलाई कुटपिट गर्न थाले। सोही क्रममा साथी फुत्किएर भागे, मलाई चाही घरमा थुनेर हिडे।’

लामासँग लिएको ५ लाख रूपैयाँको साँवा ब्याज गरी १० लाख रूपैयाँ तिरिसक्दा पनि थप ५ लाख रूपैयाँ दिन दबाब दिँदै आएको यादवको भनाई छ। लामाले यसअघि विराटनगरका एक जना पत्रकारलाई कुटपिट गरी यातना दिएको घटना बाहिरिएको थियो।

लामाले एमाले नेता पर्शुराम बस्नेतको पैसा मिटरब्याजमा लगानी गर्ने गरेको स्रोतको दावी छ। प्रहरीले उनलाई पक्राउ गरेको छैन। ठाडो उजुरी मात्र परेकाले पक्राउ नगरिएको प्रहरीको भनाई छ। वस्नेतले एमालेकै ठूला नेताको संरक्षणमा ठेक्कापट्टा सञ्चालन गर्दै आएका छ। बस्नेतविरुद्ध विशेष अदालतमा अवैध रुपमा अकुत सम्पत्ति आर्जनको मुद्दा पनि चलेको थियो। मोरङमा सञ्चारकर्मी कुटपिट घटनामा फरार रहँदा एमाले नेता पर्शुराम बस्नेतले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराप्रति व्यंग्य गर्दै ‘पर्शुराम गृहमन्त्रीसँग त डराउँदैन । प्रहरी त गृहमन्त्री मातहतका हुन् । किन डराउने ?’ भन्दै ब्यंग्य गरेका थिए।

बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएका थिए। गैरकानुनी गतिविधिबाट आर्थिक लाभ लिइ सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वस्नेत विरुद्ध शुरुमा विशेष अदालतमा र त्यसपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेष अदालतले सफाइ दिएपछि त्यसविरुद्ध सरकारीपक्ष सर्वोच्चमा पुगेको थियो। सरकारी पक्षले २०७५ असार १५ गते सर्वोच्चमा पुनरावलोकन दर्ता गराएको थियो। उनले सर्वोच्च अदालतबाट पनि सफाई पाएका थिए।

हाल नेकपा (एमाले) को प्रदेश कमिटी सचिवालय सदस्य रहेका बस्नेत आगामी निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार छन्। उनले मोरङ क्षेत्र नम्बर ६ (ख) मा उम्मेदवारी दर्ता गराएका छन् । 

यो पनि

विराटनगरमा गुण्डागर्दीलाई संस्थागत गर्न अभिषेक गिरीलाई मोरङ कारागार सरुवा !

पर्शुराम बस्नेत पर्शुराम वस्नेत

विशेष