News विदेश

राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व, सी विचारधार अझै सशक्त वनाईने

राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व, सी विचारधार अझै सशक्त वनाईने

बेईजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि नेतृत्व प्रदान गरेको छ। महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। जसमा ११ जना मात्रै महिला छन् ।

उक्त महाधिवेशनबाट स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन भने विदा भएका छन्। वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष, ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष र हान उपप्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री ली पार्टीको दोस्रो वरियतामा थिए भने तेस्रो वरियतामा रहेका  लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । तर, ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । 

केन्द्रीय कमिटीको आईतवार वस्ने पहिलो बैठकले केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटी गठन गर्ने जनाईएको छ। एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ ।

चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ । पाँच वर्षअघि भएको पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो । 
 

विशेष