News

ओलीको आरोपः सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन्

ओलीको आरोपः सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरु सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाएका छन् ।

तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले सत्ताका लागि अंश अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको दावी गरे। ‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने ?’ उनले भने–‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्टा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् ।’

हिस्सा, अंश, हित र स्वाभिमान अंश–अंश बेच्दा एक दिन देश नै बेचिसक्ने उनको दावी छ। ‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन्’ उनले भने–‘स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर बेच्छन् ।’

अर्को प्रसंगमा ओलीले सर्वोच्च अदालत सेटिङको अखडा भएको आरोप लगाए । कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घन्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भए पनि अब त्यस्तो दोहोरिन नदिइने उनले बताए।

‘अदालतले संविधानका नाममा जे मन लाग्यो, त्यही फैसला गर्छ। अदालतमा न्यायाधीशले हड्ताल गरेर तमासा देखाउँछन्। प्रधानन्यायाधीशलाई कुर्सीमा बस्न दिइँदैन’ ओलीले भने–‘एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ। प्रधानन्यायाधीशलाई घरमै नजरबन्द गरिन्छ। अधिवक्ता र तिनका संस्थाले न्यायालयको हुर्मत लिएका छन्। यो तमासा हो।’

कानुन हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको उनको आरोप छ।

विशेष