News

किशोरीको नागरिक्ताका आधारमा सन्दीप विरुद्ध मुद्दा चलाउने तयारी

किशोरीको नागरिक्ताका आधारमा सन्दीप विरुद्ध मुद्दा चलाउने तयारी

बालिका बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध कात्तिक १४ गते अदालतमा मुद्दा दायर हुने भएको छ। प्रहरीले पीडित भनिएकी किशोरीको नागरिक्ताका आधारमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। 

नागरिक्तका आधारमा पीडितको उमेर १८ वर्षभन्दा कम देखिन्छ। तर, सन्दीपका कानुन व्यावसायीले भने पीडित भनिएकी किशोरी नाबालिग नभएको र दुईवटा जन्मदर्ता भएको दाबी गर्दै आएका छन् । नागरिकतामा नाबालिग देखिएको र जन्मदर्तामा बालिग भएको उनीहरूको जिकिर छ ।

तर, प्रहरीले जन्मदर्ताका विषयमा अहिलेसम्म केही बोलेको छैन। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार अहिलेसम्म प्रहरीसँग किशोरी नाबालिग हुन् भन्ने बाहेक अन्य प्रमाण देखिएको छैन। किशोरीका पक्षले प्रहरीलाई नागरिकता उपलब्ध गराएकाले त्यसैका आधारमा मुद्दा चलाउने तयारी गरिएको उनको भनाई छ।

जन्म दर्ताको विषय र किशोरीको उमेर १८ वर्ष माथी भएको सुन्नमा आएपछि त्यो प्रमाण अहिलेसम्म प्रहरीले नखोजेको उनको भनाईले पुष्टि गरेको छ। ति अधिकारी भन्छन्–‘सायद सन्दीप पक्षले त्यो प्रमाण अदालतमा पेश गर्ला।’

कानुन अनुसार १८ वर्षभन्दा कमकी किशोरी भएमा सहमतीमै करणी गरेको भए पनि बलात्कार मानिने भएकाले दुवै पक्षले उमेरलाई मुख्य आधार बनाएका छन्। लामिछाने विरुद्ध नाबालिग बलात्कारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिमको कसुर दाबी गर्ने तयारी छ। सो दफामा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भन्ने उल्लेख छ। 

सोही दफाको उपदफा (३) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । सन्दीपले भने बयानका क्रममा आफूमाथिको आरोप अस्वीकार गरेका छन्। सन्दीपको बयान सकिएको छ । सन्दीपको बयान तीन दिन गराइएको थियो। उक्त बयान प्रमाणित पनि भइसकेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं श्रोतले जनाएको छ। 

उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् । उनले आफूलाई फसाउन क्रिकेटसम्बद्ध व्यक्ति नै लागेको दाबी समेत गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

सन्दीप लामिछाने

विशेष