News

किन मनाइन्छ काग तिहार? 

किन मनाइन्छ काग तिहार? 

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ ।

पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।

हिन्दु धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई नेपाल लगायत विश्वका थुप्रै देशमा धुमधामसाथ मनाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरि जयन्ती वा धनतेरश पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पुजा गरिन्छ ।

तिहार रङ्ग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भव्य रुपमा हर्षउल्लासमा साथ रमाइलो गरि मनाउने गरिन्छ ।


काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्छ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाश तिर छर्किदै पुज्दै 'ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा, वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम्’ भन्ने मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ ।

तर अहिले कागका लागि भात, रोटि  मिठाइं तथा विभिन्न परिकार थाल वा दुना वा टपरीमा छतमा वा बाहिर राखिदिएर पूजा गर्ने चलन छ । यसैदिन साँझ यमराजको नाममा घरको चोक आँगन आदि स्थानमा बत्ती बाल्नुपर्ने पनि प्रावधान छ ।

काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । समाचार बहाक काग का, का का, गरेर कराउँछ ।

कराएपछि ‘सुबोल बोल, ठाउँ सारी सारी बस्, शुभ समाचार दे’ भनिन्थ्यो । कौवा दक्षिणमा उडे हानि, पश्चिममा उडे दुस्ख, पूर्वमा उडे लाभ र उत्तरमा उडे कीर्ति फैलिने खालको समाचार रहेछ भन्ने विश्वास गरिन्थ्यो ।

चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’

घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पुर्याउन कागले मद्दत गर्छ । कागले एक पटक चिनेको अनुहार हत्तपत्त नर्बिसने अध्ययनले देखाएको छ । बरालका अनुसार काग आफैंमा एउटा सूचना संवाहक पनि हो । यसले अन्य प्राणीहरूलाई पनि सूचना दिन्छ । जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ ।

त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

 

काग तिहार

विशेष