News

इश्वर पोखरेलमाथि लागेका ९ दागः ट्यांकीमा पैसादेखि सेनाले गलहत्याएको सम्म

इश्वर पोखरेलमाथि लागेका ९ दागः ट्यांकीमा पैसादेखि सेनाले गलहत्याएको सम्म

जव–जव चुनाव नजिक आउँछ, तव–तव नेताहरु गनाउँन थाल्छन। पुरानो सिनो कोट्याएर सामाजिक सञ्जालमा विरोधीहरुले छ्यालब्याल पार्छन। यसरी हरेक पटकको चुनावमा गनाउँदै हिड्नु पर्ने एक नेता हुन– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल।

काठमाण्डौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका पोखरेलका विषयमा यस पटक पनि विवाद सुरु गरिएको छ। पोखरेल लामो समयदेखि एमालेको संगठन निर्माणमा क्रियाशिल छन्। जनताको वहुदलिय जनवादका ब्याख्याता समेत रहेका पोखरेल पटक–पटक सरकारमा पनि सहभागि भए।  तर, पार्टीमा होस वा सरकारमा रहँदा होस उनी निर्विवाद भने हुन सकेका छैनन्।

हेर्दा शान्त र सौम्य देखिए पनि उनी विवादै विवादले घेरिएका छन्। उनको करियरमा दागै दाग छ। 

दाग–१ः पानी ट्यांकीमा पैसा
०६१ असार २१ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमाले पनि सहभागि थियो। ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भनेर खुसी हुँदै देउवा प्रधानमन्त्री भएको त्यो वेला नेकपा एमाले पनि ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सरकारमा सामेल भयो।

भरतमोहन अधिकारीको नेतृत्वमा एमाले सरकारमा सहभागि हुँदा इश्वर पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । त्यही साल पुसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएपछि त्यसविरुद्ध विद्यार्थीहरू आन्दोलित भए ।

विभागीय मन्त्रीका हैसियतमा पोखरेलले ‘पेट्रोलियम पदार्थको मूल्य घटाए आत्महत्या गर्नुको विकल्प नभएको’ अभिव्यक्ति दिए । मन्त्री भएकै बेला पोखरेलेले बिवादास्पद छवीका उपेन्द्र कोइरालालाई नेपाल आयल निगमको प्रमुख बनाएका थिए ।

पछि, उनै कोइरालाकी छोरीसँग आफ्नो जेठो छोराको बिहे गरिदिए । देउवा सरकारको मन्त्री भएकै बेला ०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । त्यसबेला पोखरेल राजविराजमा थिए । उनलाई त्यहीं पक्राउ गरियो र थुनामा राखियो ।

त्यही बेला काठमाडौंस्थित धुम्बाराही शंखपार्क छेउमा रहेको उनको घर खानतलासी भयो। उनको घरको ट्याङकीमा पैसा भेटिएको चर्चा चल्यो। कतिपय आलोचकहरूले पोखरेललाई अहिले पनि ‘ट्यांकी’ उपनामले चिन्ने गरेका छन्। तर, उनी स्वयम भने त्यो आरोप मात्रै भएको बताउँछन।

दाग–२ः सम्धीलाई राष्ट्रिय बाणिज्य वैंकको अध्यक्ष
ईश्वर पोखरेल उपप्रधान तथा रक्षामन्त्री हुँदा ०७७ भदौमा आफनै सम्धी (जेठा छोराका ससुरा) प्रा.डा. उपेन्द्र कोईरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बताए। नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णय गरेर देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंकमा सम्धीलाई नियुक्त गरेपछि पोखरेलको तिव्र आलोचना भएको थियो। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘अव पैसा पानी ट्यांकीमा होईन, वाणिज्य बैंकमा राखौ’ भन्दै ट्रोल बनाएका थिए। ब्यापक विरोध र आलोचनाका कारण उक्त निर्णय सच्याउँदै धनीराम शर्मालाई अध्यक्ष नियुक्त गरिएको थियो। 

दाग–३ः ओम्नी काण्ड/स्वास्थ सामाग्री खरिदमा चलखेल
इश्वर पोखरेल कोरोनाको पहिलो लहरको समयमा भएको मेडिकल सामाग्री खरिद प्रकरणमा बदनाम पात्र हुन्। ओम्नीमार्फत चीनबाट मेडिकल सामग्री खरिदमा भएको अनियमिततामा उपप्रधान एवम् रक्षामन्त्री पोखरेल मुछिएका थिए। पोखरेल त्यस वेला कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक थिए। 

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न ०७७ चैत १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, त्यसअघि माघ २५ गते नै प्रक्रिया सुरु गरिएकोमा ४८ दिनसम्म कुनै निर्णय नगरी अन्तिममा अपारदर्शी रूपमा ओम्नीलाई ठेक्का प्रदान गरिएको थियो । 

प्रतिस्पर्धाका आधारमा ठेक्का दिने समय गुजारेर सरकारले अन्तिममा वार्ताको माध्यमबाट ओम्नीलाई ठेक्का पुरस्कृत गरेको भन्दै सर्वत्र विरोध भएपछि १९ चैतमा ओम्नीसँगको सम्झौता रद्द गरिएको थियो । तर, त्यतिन्जेलसम्म ओम्नीले केही सामान ल्याइसकेको र ती सामान स्वास्थ्य मन्त्रालयले बुझिसकेको छ । सो विषयमा संसद्को लेखा समितिले पनि छानबिन गरेको थियो।


दाग–४ः छोरालाई भेन्टिलेटरको ठेक्का
सिसिएमसीको संयोजक भएको फाईदा उठाएर स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग कमिसनमा काम गरेको आरोपपछि पोखरेलकै प्रत्यक्ष निर्देशनमा उनकै छोरा स्वराज पोखरेलको कम्पनीलाई बीर अस्पतालको नयाँ ५ सय सैयाको अस्पतालका लागि आवस्यक पर्ने भेण्टिलेटर खरिद गर्ने ठेक्का दिइयो। छोरा स्वराज संलग्न रहेको म्याक्सिम इन्कर्पोरेशन प्रालिले करिब ५ करोड रुपैयाँको भेन्टिलेटर र मोनिटरको ठेक्का पायो। काठमाडौं महानगरपालिकाले वीर अस्पतालका लागि १५ वटा भेन्टिलेटर र ५० वटा भेन्टिलेटरमा प्रयोग हुने मनिटर खरिदका लागि रकम उपलब्ध गराउने सम्झौता भएको थियो । ति भेण्टिलेटर र मोनिटर खरिदमा म्याक्सिमले बजारभाउ भन्दा चर्को मूल्यमा खरिद ठेक्का पाएको आरोप लागेको थियो। बजारमा १७ लाख रुपैयाँ पर्ने एउटा भेन्टिलेटर भ्याट बाहेक १९ लाख ८३ हजार २ सय ४० रुपैयाँमा किन्ने प्रस्ताव म्याक्सिमले गरेको थियो । शिक्षण अस्पतालमा पनि म्याक्सिमले नै भेन्टिलेटरलगायतको उपकरण खरिद गरेको थियो।

दाग–५ः कानुनी ब्यवस्था परिवर्तन गरेर यति होल्डिङ्सलाई पोसियो
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा ‘केही नेपाल ऐन संसोधन गर्ने ऐन–२०७५’ मार्फत् सरकारले ‘नेपाल ट्रस्ट ऐन–२०६४’ मा संशोधन ग¥यो। संशोधनमा ‘अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचना मर्मतसम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै समेत आवश्यकताअनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ।’ भन्ने विषय समेटेर गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र अति सस्तो दरमा फेरि यति होल्डिङ्स प्रालिलाई दिइयो। ट्रस्ट सञ्चाकल समितिका सदस्यहरु आफू अनुकूल परिवर्तन र कानुनी व्यवस्था पनि आफू अनुकूल बनाइएर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्टको सम्झौता म्याद सकिनु ६ वर्षअघि नै २५ वर्षका लागि थपिदिएर पोखरेलले यति होल्डियङ्सलाई पोसेको आरोप लाग्छ।

दाग– ६ः छोराको कंपनीलाई संरक्षण
एमाले उपाध्यक्ष पोखरेलका छोरा स्वराज ब्यापारी हुन। उनी संलग्न म्याक्सिम इन्कर्पोरेशन प्रालिले ठेक्कापट्टाको काम गर्दै आएको छ। तर उनको ब्यापारको पुँजीको स्रोत के हो भन्ने अहिलेसम्म खुलेको छैन। जानकारहरुका अनुसार पोखरेल ओखलढुंगाको साविक माम्खा गाविस रुपनालुमा ०१० माघ २२ गते जन्मिएका हुन्। उनको परिवारको पुख्र्यौली पेसा ‘जजमानी’ हो । आर्थिक रुपमा कमजोर नै भएका पोखरेल एसएलसी पास गरेपछि थप अध्ययनका लागि जनकपुर आएका हुन। त्यहीबाट उनले वाम राजनीति सुरु गरे। समय वित्दै जाँदा उनी एमालेको वरिष्ठ उपाध्यक्ष छन्। पटक पटक मन्त्री पनि भए। उनका दुई छोरा छन्, कान्छा छोरा स्वराजको ब्यापारका विषयमा अहिले पनि प्रश्न उठ्ने गरेको छ। उनले ब्यापारमा लगानी गरेको पुँजीको श्रोत के हो ? भन्ने प्रश्नको उत्तर अहिलेसम्म खुलेको छैन।

दाग–७ः सेनासँग खटपटपछि मन्त्रालयबाट च्युत
फास्ट ट्रयाक निर्माणका सन्दर्भमा आफू निकटका व्यक्तिले ठेक्का नपाएको झोकमा पोखरेलले औपचारिक कार्यक्रममै सेनालाई दोषी देखाएका थिए। पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर पोखरेलको भनाइ सच्याएको थियो। सेनामार्फत ल्याएको स्वास्थ्य सामग्री प्रचलितभन्दा तेब्बर मूल्यमा खरिद भएको सार्वजनिक भयो। खरिद प्रक्रियामा अनियमितता गर्न खोजेको भन्दै पोखरेलमाथि प्रश्न मात्र उठेन, सेना व्यवसायी बनेको आरोप लाग्यो। हरेक ठेक्कापट्टामा हस्तक्षेप गरेको आरोप मन्त्री पोखरेलमाथि लाग्यो। सेना सँगै मन्त्रीको मनमोटाव वढेपछि अन्तत ०७७ असोजमा मन्त्री परिषद पुनगर्नठन गर्दा उनलाई मन्त्रालय विहिन वनाएर प्रधानमन्त्री कार्यालयमा थन्क्याईएको थियो।

दाग–८ः बाम एकतामा भाँजो
०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र तालमेल गरेर चुनाव लडे। पछि पार्टी एकता भयो। तर, यो पार्टी एकतमा पोखरेल खलपात्रको रुपमा रहेको नेताहरु बताउँछन्। उनले दुई पार्टी एक होस भन्ने चाहाना कहिलै नराखेको एमालेका नेताहरु वताउँछन्। केपी शर्मा ओली र पुस्पकमल दाहाल मिल्दा आफु छायाँमा पर्ने र पछि पर्ने डरले उनले कहिलै पनि वाम एकताको पक्षमा काम नगरेको उनीहरुको भनाई छ। वरु आफु भूमिकाविहीन हुने त्रासमा उनले सधैभरी एकताको विरोध गरेको उनीहरुको भनाई छ।

दाग–९ः ज्ञानेन्द्रलाई पनि धोका
स्रातको अनुसार पुर्वराजा ज्ञानेन्द्रसँग नेता पोखरेलको नजिकको सम्वन्ध छ। ०७४ सालको निर्वाचनमा पनि उनले पूर्वराजासँग भरपुर सहयोग पाएको वताईन्छ। कार्यबाहक प्रधानमन्त्री हुँदा ०७६ साउनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न उनी निर्मल निवास पुगेको पनि चर्चा चलेको थियो।

पानी ट्यांकी प्रकरणमा पनि उनले पुर्वराजाकै निगाहमा उन्मुक्ति पाएको वताईन्छ। शाही शासन सुरु भइसकेपछि उनको घर खानतलासी गर्दा पानी ट्यांकीमा पैसा फेला परेको भनेर समाचारहरु सार्वजनिक भए। उनले ती समाचारमाथि अहिले गम्भिर प्रश्न उठाउने गरेका छन् । ‘यदि त्यो समाचार सत्य थियो भने पैसा कहीँ त भेटिनुपथ्र्यो, कहीँ त जम्मा भएको हुन्थ्यो होला ? राज्यले कब्जा गरेको भए पनि कहीँ त जम्मा भएको होला ? त्यो पत्ता लगाउने को हो ? निकाल्न जाने को हो ? टेलिभिजनले भिज्युलाइजेसन गर्नुपर्ने, फोटो खिचेको हुन्थ्यो होला नि ?’ भन्ने प्रश्न उठाउने गरेका छन्। तर, ज्ञानेन्द्रकै आदेश अनुसार उक्त पैसाको रकर्ड कतै नराखिएको जानकारहरु वताउँछन् । 

यद्यपी ज्ञानेन्द्रलाई सत्ता च्युत गर्ने बेलामा भने पोखरेलले दरवारलाई धोका दिएको वताईन्छ। ज्ञानेन्द्रले अपेक्षा गरे अनुसार उनले सहयोग नगरेको आरोप लाग्ने गरेको छ। 

इश्वर पोखरेल

विशेष