News विदेश

गाई खाने देशमा ‘हिन्दु’ धनाड्य प्रधानमन्त्री !

गाई खाने देशमा ‘हिन्दु’ धनाड्य प्रधानमन्त्री !

नेपाली समाजमा केही वर्ष अघिसम्म अंग्रजी भाषालाई ‘गाई खाने भासा’ र बेलायतलाई ‘गाई खानेको देश’ भनेर चित्रण गरिन्थ्यो। हिन्दु धर्मले गाईलाई देवीको रुपमा मान्छ र गाईलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ। 

तर, वेलायत लगायतका धर्म निरपेक्ष तथा क्रिस्चियन र मुस्लिम वाहुल्य देशमा गाईलाई खसीवोका सरह पशु मान्ने र मासु खाने चलन छ। गाई खानेको देश भनेर चिनीएको सोही देश (बेलायत)मा अहिले हिन्दु धर्म मान्ने धनाड्य ब्यापारी ऋषि सुनक प्रधानमन्त्री वन्न लागेका छन् ।

भारती मुलका सुनक बेलायतमै वसेर पनि हिन्दु देवीदेवताको पुजा गर्छन। कृष्ण जन्मास्टमीको अवसर पारेर उनी गत भदौमा पनि वेलायतको भक्तिवेदान्त मनोर मन्दिर पुगेका थिए। श्रीमतीसहित मन्दिर पुगेका उनले श्रद्धापुर्वक पुजा गरेको फोटो ट्वीटरमा राखेका छन्। फोटो शेयर गर्दै उनले लेखेका छन्–‘भगवान कृष्णको जन्मदिन मनाउने लोकप्रिय हिन्दू पर्व जन्माष्टमी मनाउन आज म मेरी पत्नी अक्षतासँग भक्तिवेदान्त मनोर मन्दिर गएँ।’

सुनकको निर्वाचन क्षेत्रमा पनि सयौं गाई र भेडा किसानहरूको घर छ। उनले त्यस्ता किसानहरुको उद्योगलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफना नागरिकलाई मासु कम खान नभन्ने पनि जनाएका छन् । ‘मानिसहरूको खाना छनोट आफ्नै हो। म यस्तो सरकारको नेतृत्व गर्नेछु जसले हाम्रा पशुपालन किसानहरूलाई स्वदेश र विदेशमा देस बिदेशमा सफल हुन् समर्थन गर्नेछ’ उनले भनेका छन।

ऋषि सुनकले कोरोनाभाइरस महामारीका बेला यूकेको अर्थतन्त्र हाँकेपछि त्यसैबेला उनलाई धेरैले यूकेका ‘सम्भावित भावी प्रधानमन्त्री’ को रूपमा हेर्न थाले। बोरिस जोनसनको राजीनामापछि सुनकका लागि उक्त शक्तिशाली स्थानमा जानसक्ने बाटो खुलेको छ।

फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बने। त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।

२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे।

लोकप्रियतामा उतारचढाव
पहिलो लकडाउनका बेला उनले आफ्नो ४०औँ जन्मदिन मनाएका थिए। सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन ‘जेसुकै गर्ने’ वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे।

त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पु-यायो। तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।

जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए।  

यो वर्षको एप्रिलमा केही कन्जरभेटिभ आलोचकहरूले यी करोडपति नेताले संघर्षरत परिवारहरूले भोगिरहेको जीवनयापनबारे बुझेनन् कि भन्ने प्रश्न गरे। सोही महिना सुनक र उनको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उनकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए। 

आफ्ना श्रीमानमाथि राजनीतिक दबाव बढेपछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्। लेबरले उनको धन सम्पत्तिबारे कैयौँ प्रश्नहरू उठायो जसमध्ये एउटामा भनिएको थियोः के ट्याक्स हेभन्स (कर नलाग्ने देश)को प्रयोग गरेर सुनकले कहिल्यै फाइदा लिएका छन?

द इन्डिपेन्डेन्ट पत्रिकाले आफ्नो एउटा समाचारमा भने अनुसार उनी सन् २०२० मा ब्रिटिश भर्जिन आइल्याण्ड्स र केम्यान आइल्याण्ड्सको लाभग्राहीमा सूचिकृत थिए। सुनकका एकजना प्रवक्ताले भने अनुसार उनीहरूले ती दाबी स्वीकारेनन्। 

त्यसो भए हामीलाई ऋषि सुनकबारे के थाहा छ?

उदय
सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मुलका हुन्। जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्। 

आफ्ना बुवाको सामुदायिक सेवाप्रतिको प्रतिबद्धताबाट आफू नतमस्तक भएको सुनक बताउँछन्। आमालाई औषधि पसलमा सघाउँदा उनले व्यापारको सुरुवाती ज्ञान पाए। उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे। 

उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे। स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह–संस्थापक नारायण मूर्तिकी छोरी हुन्। 

यी दम्पतीका दुई छोरीहरू छन्। सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे। पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। 

धनी सांसद
उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ। द टाइम्स पत्रिकाका अनुसार उनी ‘२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी’ बने तापनि आफूसँग भएको सम्पत्तिबारे उनले कहिल्यै सार्वजनिक रूपमा बोलेका छैनन्। उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।

पूर्ववर्ती टरिजा मेको सरकारमा उनी कनिष्ठ मन्त्री बनेका थिए। बोरिस जोनसनले उनलाई अर्थ मन्त्रालयमा दोस्रो वरियतामा रहने चीफ सेक्रेटरी टू द ट्रेजरीमा नियुक्त गरे। र अन्ततः फेब्रुअरी २०२० मा उनलाई चान्सलर (अर्थमन्त्री)मा पदोन्नति गरियो। 

सुनक सुरुमा जोनसनका कट्टर समर्थक थिए तर यसै साता उनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीका तौरतरिका ‘आधारभूत रूपमै निकै भिन्न’ रहेको भन्दै राजीनामा दिए।

राजनीतिक धारणा कस्ता?
ईयू जनमत संग्र्रहका बेला उक्त क्षेत्रीय सङ्गठन छाड्ने पक्षमा उभिएका उनले त्यस निर्णयले ब्रिटेनलाई ‘खुला, न्यायपूर्ण र थप समृद्ध’ बनाउने योर्कशायर पोस्टसँग बताएका थिए। त्यसबेला यूकेको व्यापार ब्रसल्सले तय गर्ने लम्बेतान प्रक्रियाले  ‘दबाएको’ तर्क गरेका उनले ब्रेक्जिटपछि ईयूसँग एउटा खुला व्यापार सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए।

उनले आप्रवासन नियमहरू फेर्नु ईयूबाट बहिर्गमनको पक्ष रोज्नुको कारण रहेको बताएका थिए। ‘व्यवस्थित आप्रवासनले हाम्रो देशलाई फाइदा गर्छ भन्नेमा म विश्वस्त छु। तर हामीले आफ्नो सीमामा नियन्त्रण राख्नैपर्छ।’

सुनक यूकेमै जन्मिए तापनि अन्यत्र मूल भएको परिवारका सन्तान हुन् र उनले त्यो परिचयको अर्थ हुने बताउँछन्। ‘मेरा अभिभावकहरू यहाँ बसाइ सरेर आए र तपाईँहरूले यहाँ जन्मिएको पुस्ता पाउनुभयो, उनीहरूका अभिभावक यहाँ जन्मिएका होइनन् र उनीहरू यहाँ जीवन बनाउन आए’ सन् २०१९ मा उनले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका थिए। 

‘सांस्कृतिक हुर्काइका विषयमा म सप्ताहन्तमा म मन्दिर पुग्छु– म हिन्दू हुँ – तर शनिवार नै म (साउथह्याम्पटन फुटबल क्लब) सेन्ट्स गेम्समा पनि पुग्छु – दुवै गर्छु’ उनी भन्छन्।


बीबीसी नेपालीको सहयोगमा

विशेष