News

विष्णु पौडेल विरुद्ध गठवन्धनले समर्थन गर्न लागेका केशव सूर्यवंशी को हुन ?

विष्णु पौडेल विरुद्ध गठवन्धनले समर्थन गर्न लागेका केशव सूर्यवंशी को हुन ?

निर्वाचन आयोगले रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज गरेपछि अन्यौलमा देखिएको सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगर (केशव सूर्यवंशी मगर) लाई समर्थन गर्ने सम्भावना वढेको छ। नेकपा एकीकृत समाजवादीका गुरुङ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।

यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार तीनपटक जितेको क्षेत्र हो। गठबन्धन भएपछि गुरुङले यो पटक पौडेललाई चुनौती दिने ठानिएको थियो। तर बैंकिङ कसुरको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो।

सर्वोच्च अदालत पुगेका गुरुङको उम्मेदवारी कायम रहन नसकेपछि गठवन्धन अहिले रुपन्देही २ मा उम्मेदवारविहीन छ। पछिल्लो समय गठबन्धनका दल र जनमुक्ति पार्टीसँगको छलफल तीव्र रूपमा अघि बढेको छ। 

छलफलका लागि जनमुक्तिले वार्ता समिति पनि बनाएको छ। सोमबार भएको जनमुक्तिको बैठकले गठबन्धन दलसँग छलफल गर्न महासचिव टोप अस्लामीको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा र युवा संगठनका अध्यक्ष शंकर गाहा रहेको वार्ता समिति गठन गरेको हो। 

यता गठबन्धनले जनमुक्तिसँग मात्रा नभई अन्य दल र स्वतन्त्र उम्मेदवारसँग पनि छलफलको ढोको खुला राखेको बताएको छ। तर जनमुक्तिको मत धेरै भएकाले गठबन्धनले उसैलाई सघाउने बढी सम्भावना छ।

०७४ सालको संसदीय चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो। 

को हुन् केशव?
रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर सो पार्टीका कार्यकारी अध्यक्ष हुन्। उनी पहिलोपटक निर्वाचनमा सहभागि भएका हुन। 

जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगा पछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देहीमा एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी मैदानमा छन्। २०४३ सालतिर केशव मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियनमा आबद्ध थिए। २०४६ सालको आन्दोलनमा उनी माक्र्सवादीबाटै आन्दोलनमा सहभागी भएका थिए। 

पछि माक्र्सवादी र माले एकीकरण बनेर एमाले बनेपछि उनी खासै राजनीतिमा सक्रिय भएनन्। ०५१ सालमा राष्ट्रिय जनमुक्तिमा आवद्ध भए भने ०५३ सालमा पार्टीको पश्चिमाञ्चल सचिव, ०५६ सालमा केन्द्रीय सदस्य भएका उनी उपमहासचिव, महासचिव हुँदै गत भदौबाट कार्यकारी अध्यक्ष भएका हुन्। 

विशेष