News

विष्णु पौडेलको दावीः हामी एक्लैले साधारण वहुमत ल्याउँछौं

विष्णु पौडेलको दावीः हामी एक्लैले साधारण वहुमत ल्याउँछौं

निर्वाचन आयोगले रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज गरेपछि आफु सुरक्षित भएको महसुस गरेका नेकपा एमालेका उम्मेदवार तथा उपाध्यक्ष विष्णु पौडेल आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्न थालेका छन्।

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको बताएका पौडेलले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको दावी गरे। गठबन्धनको काम हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति गरेको उनको भनाई छ।

अन्य सहयात्री दलहरुको सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाएर आगामी पाँच वर्ष मुलुक हाँक्ने पौडेलले जिकिर गरे। ‘एमाले आगामी निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ’ उनले भने–‘गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ।’

१६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फको कुरा गर्दा एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ साधारण बहुमत ल्याउने स्थितिमा रहेको उनले बताए । ‘यसमा कुनै प्रकारको द्विविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन । गठबन्धनको त वास्तवमा भन्नुहुन्छ भने गठबन्धनको अवस्थामा त राष्ट्रव्यापी रुपमै धेरै कमजोर देखिएको छ’, उनले भने, ‘अहिलेको मुलुकको समस्याको समाधान दिने माध्याम गठबन्धन होइन। गठबन्धन समस्या सृजना गर्ने माध्यम हो भन्ने सिंगो राष्ट्रको ठम्याइ छ।’

समस्या समाधानका लागि एमाले चाहिन्छ, शासन सत्ताको बागडोर, एमालेलाई हस्तान्तरण गर्नुपर्छ भन्ने नेपाली जनताको निस्कर्ष रहेको उनले वताए । 
 

विशेष