News

निर्वाचन लक्षित मधेसी एक्सन– मधेसी मोर्चा ब्युँताउने प्रयत्न

निर्वाचन लक्षित मधेसी एक्सन– मधेसी मोर्चा ब्युँताउने प्रयत्न

टिकट बाँडफाँडमा हानाथाप भएपछि असन्तुष्ट भएको जनता समाजवादी पार्टीका कारण सत्ता गठबन्धनको अस्तित्व नै संकटमा देखिएको छ। जसपाले गठबन्धन छोड्ने र मधेश केन्द्रित दलहरुको मोर्चा बनाएर चुनावमा जाने तयारी गरेपछि गठबन्धन दलका नेताहरु तिलमिलाएका छन्।

पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा सुरुदेखि अन्तिमसम्म सहभागि थियो। तर अन्तिम समयमा सिट बाँडफाँटको अवस्था हेर्दा जसपा सन्तुष्ट हुन सकेन। नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये जसपाको भागमा अधिकतम १७/१८ सिट मात्रै पर्यो भने प्रदेशतर्फ मधेश प्रदेशमा कुल ६४ निर्वाचन क्षेत्रको झण्डै आधा र अरुमा एकाध सिट मात्र पाउने अवस्था छ।

त्यसपछि जसपाले गठबन्धनबाट आफुलाई न्यान नभएको महशुस गरेको छ। यसैबीच शनिबार वसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभएको र अरु दलसँग पनि तालमेल गर्ने निर्णय गरेको छ।

जसपाले तालमेलको निर्णय गरेपनि आन्तरिक रुपमा भने मधेशी मोर्चा ब्युँताउने र हालसम्म मधेशी जनतामाथि भएको अन्यायको वदला लिने तयारीमा नेताहरु देखिएका छन्। आवश्यक्ता अनुसार मधेशवादी दललाई प्रयोग गर्ने र अधिकारका कुरा आएपछि आफैं मात्र अघि सर्ने कांग्रेस, माओवादी, एमाले लगायतका ठुला पार्टीको षडयन्त्रमा यस पटक आफुहरु नवर्ने नेताहरुको भनाई छ।

ठुला दललाई साईजमा राख्न मधेशवादी दल एक ठाउँमा आउनै पर्ने उनीहरु बताउँछन्। ‘हामीले संविधानको रक्षा र लोकतान्त्रीक ब्यवस्था माथिको संकट टार्न गठबन्धन बनायौं। त्यतिवेलाको आवश्यक्ता जे थियो, त्यो गरियो’ जसपाका एक नेताले भने–‘तर गठबन्धनमा हामीलाई अन्याय हुन्छ भन्ने हामीलाई पहिलै जानकारी थियो।’

त्यसैले मधेश मैत्री दललाई एक ठाउँमा ल्याउन पहल भईनै रहेको उनीहरुको भनाई छ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह पनि मधेशवादी दलहरु एक हुनु पर्ने र त्यसका लागि आवश्यक तयारी भईरहेको बताउँछन। उनका अनुसार जसपा, लोकतान्त्रीक समाजवादी पार्टी, जनता प्रगतिपशल पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय एकता अभियान लगायतका राजनीतिक संगठनका बीचमा अहिले तिव्र छलफलहरु भईरहेका छन्।

सवै पार्टीलाई एक ठाउँमा ल्याउन पार्टीका दोश्रो तहका नेताहरु दर्जनौ पटक छलफमा वसिसकेको उनले जानकारी दिए। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा लोसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोका बीचमा फोन सम्वाद भईरहेको उनको भनाई छ। उनी भन्छन्– दवाव र प्रभावमा जोडिएको सम्वन्ध टिकाउ हुँदैन, जुन अहिलेसम्म देखिएको छ। अव प्राकृतिक सम्वन्ध स्थापित गर्ने प्रयास भईरहेको छ, जुन जरुरी पनि छ।’

विशेष