News

प्रचण्डलाई हत्याको आरोप लगाउँदै कस्ले हाल्यो प्रहरीमा किटानी जाहेरी ?

प्रचण्डलाई हत्याको आरोप लगाउँदै कस्ले हाल्यो प्रहरीमा किटानी जाहेरी ?

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालमा हत्या आरोपमा किटानी जाहेरी परेको छ।

रामेछापका द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले आफ्ना पिता टीकाराज आरणको हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका हुन। ०५७ फागुन १६ गते रामेछापको मन्थली नगरपालिका–९ (साविक पुरानागाउँ–५) मा साँझ ७ बजे माओवादीले अपहरण गरेर गोली हानी आफनो पिताको हत्या गरेको उनको आरोप छ।

दाहालले ‘द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा म लिन्छु बाँकीको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने जिकिर गरेका थिए। सोही आधारणमा ज्ञानेन्द्रले आफनो पिताको हत्या सम्बन्धमा ‘आयोगका केही सिफारिशहरूको कार्यान्वयन र पीडितको अवस्था अध्ययन प्रतिवेदन २०७५ राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर, नेपालको पृ. २६–३६ मा प्राणदण्ड दिनु कानून, धर्म र मानवीय पक्षबाट गलत भन्ने उल्लेख भएको पाइन्छ’ जनाउँदै बाँकी १२ हजारको हत्यारा पनि प्रचण्ड नै भएको जिकिर गरेका छन्।

त्यसै गरी द्वन्द्वकालमा बेपत्ता पारिएका, अङ्गभङ्ग, कब्जा गरिएका, विस्थापित, चल सम्पत्ति लूटपाटमा परेका, बालसैन्य भर्ती लगायतका अमानवीय कार्यको सम्पूर्ण जिम्मा प्रचण्डले नै लिनुपर्ने आरणले उल्लेख गरेका छन् ।

आफनो पिताको अपहरण गरी यातना दिंदै गोली प्रहार गरी हत्या भएको र जिल्ला प्रहरी कार्यालय रामेछापले पनि घटनाको अभिलेख राखी पीडित पक्ष र साक्षीसँग बयान लिएको जनाएका आरणले इमेल मार्फत प्रहरीमा जाहेरी दिएका हुन।

यसअघि आरणले कात्तिक ९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पनि दाहाल विरुद्ध निवेदन दर्ता गराएका छन्।

विशेष