News

कांग्रेसको घोषणा पत्रमा ओलीको हुर्मत

कांग्रेसको घोषणा पत्रमा ओलीको हुर्मत

नेपाली कांग्रेसले शनिवार सार्वजनिक गरेको घोषणा पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हुर्मत लिएको छ।

नेकपाको नेतृत्व गर्दै सरकार चलाएका ४१ महिनाको समय पूर्णरुपमा खेर गएको घोषणा पत्रमा उल्लेख छ। ‘नेकपा, नेकपा एमाले र पूर्वप्रधानमन्त्री ओलीको कारणले करिब ४१ महिनाको अवधि पूर्णरुपमा खेर गयो’– घोषणा पत्रमा भनिएको छ। 

राष्ट्रवाद, स्थिर सरकार र समृद्धिजस्ता लोकप्रियतावादी नाराको आधारमा तत्कालीन वाम गठबन्धनको ०७४ का तीनै तहका निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरी इतिहासमा नै सबैभन्दा सुविधानजनक र अनुकूल समय पाएको भए पनि सो अनुसार ओली नेतृत्वको सरकारले काम गर्न नसकेको कांग्रेसको आरोप छ। 

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग सञ्चार जगतमाथि नियोजितरुपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकां समय र उर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरिएको थियो’– कांग्रेसले भनेको छ। 

यसैगरी, कोभिड–१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार ओली नै भएको पनि आरोप लगाइएको छ । कांग्रेसले कोभिड–१९ बाट लाखौं संक्रमित र हजारौं नागरिकको मृत्यु भएको मानवीय संकटको घडीमा समेत ओली नेतृत्वको सरकार नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा डुबेको घोषणा पत्रमा उल्लेख छ । भनिएको छ–‘जनताको स्वास्थ्य प्रति यो हदसम्म गैरजिम्मेवार र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन।’

घोषणापत्रमा कांग्रेसले भनेको छ–‘कुशासन र भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी उदासिनता तथा मेडिकल सामग्री खरिदमा भ्रष्टाचार र कमिसन प्रकरण हो। महामारी सुरु भएपछि कोभिड नियन्त्रण गरी जनताको जीवन रक्षा गर्ने सरकारको अनिवार्य प्राथमिक दायित्व थियो । तर महामारी नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा तत्कालिन सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आयो ।’

विशेष