News

बागीलाई माओवादीको कारवाहीः हेमराज भण्डारीसहितका नेता पार्टीबाट निस्कासित

बागीलाई माओवादीको कारवाहीः हेमराज भण्डारीसहितका नेता पार्टीबाट निस्कासित

नेकपा माओवादी केन्द्रले धनकुटामा स्वतन्त्र उमेदवारी दिएका हेमराज भण्डारीसहितका बागी उम्मेदवारलाई पार्टीबाट निस्कासन गरेको छ। 

आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका उमेदवारविरुद्ध स्वतन्त्र उमेदवारी दिएका कतिपय नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका छन्। 

अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी ‘विशेष परिपत्र–३’ मा उल्लेख भए अनुसार केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवार रहेका अशोककुमार मण्डल ‘अमर’, केन्द्रीय समिति सदस्य एवं मधेस प्रदेशसभा सदस्यमा पर्सा क्षेत्र नम्बर–४ ‘क’बाट स्वतन्त्र उमेदवार रहेका वीरेन्द्र यादव, केन्द्रीय समिति सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्यमा रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट स्वतन्त्र उमेदवार रहेका दीपेन्द्रबहादुर पुनमगर र केन्द्रीय लेखा परीक्षण आयोग सदस्य एवं प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार रहेका कालीकोटका काशिचन्द्र बराललाई निस्कासन गरिएको उल्लेख छ।

यसैगरी, पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनका विरुद्ध स्वतन्त्र उमेदवार रहेको भए वा त्यस प्रकारका उमेदवारको प्रस्तावक र समर्थक रहेको भए सम्बन्धित प्रदेश समितिहरूले तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिइएको छ ।

जिल्ला र स्थानीय तहका पार्टी समितिका सदस्यहरूले पार्टी र गठबन्धनको निर्णयविपरीत स्वतन्त्र उमेदवारी दिएको वा त्यस प्रकारका उमेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीबाट निष्कासनको कारबाही गर्न भनिएको छ।


 

विशेष