News

सप्तरी २ मा उपेन्द्र यादवः रेकर्ड बनाउन भन्दा विश्राम लिन सहज

सप्तरी २ मा उपेन्द्र यादवः रेकर्ड बनाउन भन्दा विश्राम लिन सहज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालकै शैलीमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै हिड्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ मा आएर अडिएका छन्। ०७४ सालको आम निर्वाचन उनले यहीबाट जिते। ०७९ मंसिर ४ गतेको निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।

तीनपटक भएको मधेश आन्दोलनको कमान्डर रहेका यादवले तीनै पटक सांसद जितेका छन्, तर हरेक पटक निर्वाचन क्षेत्र फेरेर। २०६४ सालको पहिलो संविधानसभा चुनावमा उपेन्द्र यादव मोरङ– ५ र सुनसरी– ५ बाट चुनाव लडेका थिए । दुवै क्षेत्रबाट उनी विजयी भए। ०७० सालको चुनावमा मोरङ– ५ र सुनसरी– ५ बाट उम्मेदवार भए तर, सुनसरी– ५ बाट पराजित भए।

तेस्रो पटक सप्तरी २ बाट उम्मेदवार भएर चुनाव जिते। चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्ने तयारीमा रहेका उनी यो पटक दोहो-याएर एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन्। तर, यसपटक भने चुनाव जित्न उनलाई त्यती सहज छैन। पहिलो त, सप्तरी २ ले एउटै उमेदवारलाई दोहो-याएर चुनाव जिताएको रेकर्ड छैन।

सप्तरी निर्वाचन क्षेत्र नंं –२ (तत्कालिन निर्वाचन क्षेत्र नं. ३) बाट ०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेसका हरीप्रसाद राय, नेपाल सदभावना पार्टीका अनिस अन्सारी, महेश यादव, रेणु यादव, नेकपा माओवादीका उमेशकुमार यादव र ०७४ मा उपेन्द्रले जिते। तर, यिनीहरु कसैले पनि दोहो-याएर चुनाव जितेका छैनन्।
 
उपेन्द्रले मंसिर ४ गतेको चुनाव जिते सप्तरी २ ले एउटै उम्मेदवारलाई दोहो-याएर चुनाव जिताएको रेकर्ड बन्नेछ। तर, उनलाई त्यो रेकर्ड बनाउन फलामको च्युरा चपाउनु सरह भएको छ। सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग तालेमल गरेका यादव सत्ता गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर र पहिलो पटक निर्वाचनमा भाग लिएको जनमत पार्टीका चन्द्रप्रकाश (सिके) राउतको चेपुवामा परेका छन्।

स्थानीय तहको चुनावमा दलहरूले वडागत रूपमा प्राप्त गरेको मत अनुसार सप्तरी–२ जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि छ। सप्तरी २ मा सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ र एमाले–जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत छ। मत हिसाबले एमालेसँग मिलेर गठबन्धन गर्नु उपेन्द्रका लागि घातक भएको छ।

अर्कोतर्फ, सप्तरी दुईले यस पटक उपेन्द्रको विकल्पमा अर्को नेता भेट्टाएको छ। पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष नै उनको प्रतिस्पर्धी छन् । पहिलो पटक चुनाव लड्न लागेका राउतले बनाएको बुद्धिजीवीको पहिचानले यादवलाई समस्यामा पार्न सक्ने स्थानीय मतदाताहरु बताउँछन् ।

अमेरिकामा पढेर नासामा काम गर्दा गर्दै नेपाल फर्केका राउत मधेशलाई छुट्टै देश बनाउने अभियानमा थिए। त्यसबाट पछि हटेर उनी पहिलोपटक शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामा छन्। हालसम्म जनताले राउतलाई परिवर्तनको सम्वाहकका रुपमा चिन्छन्। यही छाप मंसिर ४ सम्म कायम रहन सक्यो भने यस पटक उपेन्द्रले विश्रामको मौका पाउने सम्भावना धेरै रहेको जानकारहरु वताउँछन्।

यसैगरी, लगातार पराजित हुँदा पनि राजनीतिमा निरन्तर सकृय रहेका जयप्रकाश ठाकुर पनि उपेन्द्रका लागि चुनौती बनेका छन्। लोसपाका नेता ठाकुर अहिले सत्ता गठवन्धनका साझा उम्मेदवार हुन। ०७४ को निर्वाचनमा राजपाले टिकट नदिँदा स्वतन्त्र उठेरै ठाकुरले ९ हजार मत कटाएका थिए।

यसैगरी, पहिचानको एजेन्डासहित २०६४ मा आन्दोलन उठाएर उपेन्द्र यादवले राजनीतिक शक्ति आर्जन गरेका थिए । तर, उनले आर्जन गरेको शक्ति फगत सत्ता स्वार्थका लागि मात्रै प्रयोग भयो। सत्तास्वार्थकै लागि मधेशवादी दल पटक पटक फुटे। यही कारण उपेन्द्रसहितका मधेशवादी नेताले एजेन्डा पनि गुमाउँदै गएका छन् ।

एजेन्डा छोडेर सत्तास्वार्थमा लागेपछि नागरिकको विश्वास कमजोर बन्दै गएको छ । विश्वास कमजोर हुँदै गएपछि राजनीतिक इमान पनि कमजोर भएको विश्लेषकहरू बताउँछन्। उपेन्द्रले आजसम्मका हरेक चुनावमा नयाँ नयाँ मुद्दा उठाएर चुनाव जित्दै आएका थिए। त्यो मध्येको एउटा मुद्दा हो– नागरिक्ता विधेयक। यस पटक भने उनलाई नागरिक्ता विधेयकको सुविधा पनि छैन। किनकी विधेयकको विपक्षमा रहेको एमालेसँगै उनले तालमेल गरेका छन्। यो तालमेलले उपेन्द्रलाई जनताको प्रश्नको जवाफ दिन पनि हम्मे हम्मे परेको वताईन्छ। 

विशेष