News

सन्दीप लामिछानेलाई कारागार पुर्याउने यो हो प्रहरीको अचुक अस्त्र

सन्दीप लामिछानेलाई कारागार पुर्याउने यो हो प्रहरीको अचुक अस्त्र

बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । सरकारी वकिल तथा प्रहरीका अनुसार हालसम्मको प्रमाणका आधारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना धेरै छ।

प्रमाणहरू हेर्दा कुनै पनि हालतमा सन्दीप तारेख वा धरौटीमा छुट्ने सम्भावना नभएको एक सरकारी वकिलले दावी गरे। प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज सन्दिप पुर्पक्षमा जाने पहिलो प्रमाण भएको उनको भनाई छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो । अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिने बताइएको छ ।

जानकारी अनुसार प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ। मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा होटेलको सीसीटीभी फुटेज संकलन गरेको छ। जसमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएको छ । 

आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिगले सन्दिप विरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।

भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका हुन । असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।

यो पनि,

 

सन्दीप लामिछाने

विशेष