News

दार्चुलामा बालकको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले भारतलाई पठायो यस्तो कुटनीतिक नोट

दार्चुलामा बालकको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले भारतलाई पठायो यस्तो कुटनीतिक नोट

भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोट हुँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ। कुटनीतिक नोटमा भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न आग्रह गरिएको छ।


मन्त्रालयले आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावास मार्फत ‘कूटनीतिक नोट’ पठाएको श्रोतले जनाएको छ। कूटनीतिक नोटमा खास गरी भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग समन्वय गर्न, त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र दार्चुलाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन आग्रह गरिएको छ। 

श्रोतका अनुशार गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारतलाई पत्र लेखिएको हो। घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ।

शनिवार निर्माण कम्पनी र पीडित पक्षका विचमा भएको सहमति अनुसार बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रतिबद्दता भारतीय पक्षबाट आएको छ। 

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो।

विशेष