News

विवादित महराको नाम समानुपातिक सूचिबाट यसरी हटाईयो, छोरी यथाबत

विवादित महराको नाम समानुपातिक सूचिबाट यसरी हटाईयो, छोरी यथाबत

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाईएको छ । उनकी छोरी कुश्मा महरा (प्रगती)को नाम भने प्रदेशसभा तर्फ समानुपातिकको सूचीमा यथाबत छ । उनी माओावदी जनयुद्ध कालमा कलाकारीता क्षेत्रमा सक्रिय थिइन् ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा १ नम्बरमा नाम रहेका महराको नाम उनकै आग्रहमा हटाईएको जनाईएको छ । उनको नाम पहिले खस आर्यबाट १ नम्बरमा थियो । पछि उनले नै ‘मेरो नाम हटाइदिनुस’ भनेपछि नाम हटाइएको एक नेताले जानकारी दिए।

महराको नाम प्रत्यक्षतर्फ पनि रोल्पा १ र र दाङ २ मा पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । महराले ‘आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार भएको’ बताएका थिए।

उनी २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका नेता हुन। ०४८ र ०७० सालमा रोल्पा तथा ०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३/६४ को अन्तरिम संसदमा समेत थिए ।

महराको नाम समानुपातिको सूचिबाट हटाएपछि उनले प्रत्यक्षतर्फ चुनाव लड्ने/नलड्ने विषय भने खुलेको छैन।

को हुन महरा ?
शान्ति प्रक्रियामा आएपछि नेता महरा निरन्तर लाभको पदमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा दस बर्षबीचमा तीन पटक उप–प्रधानमन्त्री र ६ पटक मन्त्री भए । एकपछि अर्को पदीय छलाङ मारिरहेका महराले प्रतिनिधिसभाको नेतृत्व पनि गरे।

महरालाई अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र र माओवादीभित्रका ‘गच्छदार’ भनेर चिनिन्छ। २०१५ साल असार १५ गते रोल्पाको मेबाङमा जन्मिएका महरा पूर्व शिक्षक हुन् । पश्चिम नेपालमा महरा सरका रुपमा चिनिने उनी २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका हुन् ।

०३७ सालमा तत्कालिन नेकपा चौथो महाधिवेशनको सदस्यता प्राप्त गरेका महरा विद्यार्थी, शिक्षकजस्ता बर्गीय संगठनको जिल्ला नेतृत्व हुँदै राजनीतिमा अगाडि बढेका पात्र हुन् । सक्रिय राजनीतिमा लागेको १६ वर्षपछि २०५२ सालमा भूमिगत भएका महरा तत्कालिन नेकपा माओवादीले ०६३ मा सरकारसँग वार्ता गर्न गठित टोलीको नेतृत्व गर्दै सार्वजनिक भएका थिए ।

शालिन नेता मानिने महरा पचास करोडको ‘टेपकाण्ड’, टेलिकम कम्पनीको लाइसेन्स प्रकरण र विवादित व्यापारीसँगको धनिष्ठताका कारण विवादमा तानिएका थिए । ०७६ असोजमा संघीय संसदकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी थप विवादित भए।

माओवादीभित्र महरालाई बेइजिङ र दिल्लीलाई एकै पटक ‘डिल’ गर्न सक्ने नेताको रुपमा मानिन्छ ।

विशेष