News विदेश

भारतमा ऐतिहाँसिक पुल चुँडिंदा १३७ जनाको मृत्यु, ५० जना वेपत्ता

भारतमा ऐतिहाँसिक पुल चुँडिंदा १३७ जनाको मृत्यु, ५० जना वेपत्ता

भारतको गुजरातमा एउटा ऐतिहाँसिक पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ भने ५० जना वेपत्ता छन् । मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल आइतबार साँझ चुडिएको हो ।

घटनामा १०० जना घाइते भएका छन्। घट्नाको अनुशन्धानका लागि गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

वर्षौं पुरानो मोरबी पुल केही वर्षयता बन्द रहेको थियो। मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर हालैमात्रै मर्मत गरि दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । 

१ दशमलव २५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो । मोरबी शहरको सरकारी वेबसाइटमा यो पुललाई ‘इन्जिनियरिङको चमत्कार’ लेखिएको छ ।

उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ । स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ ।
 

विशेष