News राजनीति

राप्रपामा यी हुन खाईलाग्दा ४ अनुहार, संसद छिर्ने कस्तो छ सम्भावना ?

राप्रपामा यी हुन खाईलाग्दा ४ अनुहार, संसद छिर्ने कस्तो छ सम्भावना ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले असोज १२ गते रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा भित्र्याउँदै गर्दा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरे। मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनको भनाइ थियो । 

उनको यो भनाईलाई धेरैले खिसिट्युरी गरे। लेखक खगेन्द्र संग्रौलाले त लिङ्देनको भनाईप्रति प्रतिक्रिया जनाउँदै राप्रपा ‘पुछारबाट’ पहिलो पार्टी बन्ने भन्दै तुच्छ कमेन्ट गरे। रवीन्द्र मिश्र संघीयता, गणतन्त्र र धर्मनिरपेक्षाको हत्या गर्न राप्रपामा छिरेको गम्भिर आरोप समेत संग्रौलाले लगाए। 

तर, राजनीतिक दलका नेता प्रतिको वितृष्णाका कारण जनताले विकल्प खोजिरहेको भने स्पष्ट छ। बालेन्द्र साहदेखि हर्क साम्पाङसम्म यसका उदाहरण हुन। त्यसैले जनताले गणतन्त्रवादी भन्दै स्वार्थी राजनीति गरिरहेका नेताहरुको विकल्प नखोज्लान भन्ने अवस्था भने छैन। त्यसमाथि राप्रापा भित्र पनि जनताको नजरमा परेका केही आकर्षक अनुहार छन्। जसलाई नागरिकले विश्वास गरेर भोट दिन सक्ने सम्भावना छ। अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष मिश्र, प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापालगायतका नेता जनताको नजरमा छन्।

राजेन्द्र लिङ्देन
तत्कालिन माओवादीको विद्रोह उत्कर्षमा रहेका बेला पनि राजा र राजसंस्थाको पक्षमा वकालत गरिरहेका लिङ्देन झापाको गोल्धापमा बसोवास गर्थे। उनको घरमा माओवादीले वम विष्फोट गरायो। त्यसपछि लिङ्देनको परिवार झापाकै बिर्तामोडमा बसोबास गर्न पुग्यो।

घरमा बम विस्फोट र आगाजजी गर्दा पनि चित्त नवुझेर माओवादीले उनलाई कालोमोसो दलेर कुटपिट समेत गरे। मरणासन्न हुनेगरी कुटेर ‘अब मर्यो’ भन्दै झाडीमा फालिएका तिनै लिङ्देन अहिले राप्रपाको अध्यक्ष छन्।

विद्यार्थीकालमै राजनीति सुरु गरेका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने। २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष थिए।

स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष पनि भए। ०६०÷०६१ मा राजाको प्रत्यक्ष शासन कालमा जिविस झापाको सभापतिसमेत बनेका लिङदेन लामो समय गाडी चालक भएर जिवन निर्वाह गरेका छन्।

पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा–भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ। तर सिद्धान्तमा अविचलित लिङ्देन राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा अडिग रहिरहे।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनले पराजय व्यहोरे। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै उनी झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए। लिङ्देन मतदाताले रुचाउने नेता मध्येका एक हुन।

रबीन्द्र मिश्र
०७३ सालमा बीबीसी नेपाली सेवाको आकर्षक (मासिक तलब ७ लाख रुपैयाँ) जागीर छोडेर राजनीति गर्नकै लागि लण्डनबाट नेपाल फर्किए हुन रवीन्द्र मिश्र । त्यसयता उनले धेरै उतारचढाव भोगिसकेका छन्।

नेपाली राजनीतिको कुण्ड सफा गर्न आएका उनले नयाँ पार्टी निर्माण गरे। पछि पार्टी एकिकरण गरेर विवेकशील साझा पार्टीको अध्यक्ष समेत भए। प्रतिभा, उर्जा र आफ्नै भिजनसहितका यी लोकप्रिय नेता अहिले राप्रपाको वरिष्ठ उपाध्यक्ष छन्। 

कुनै पनि पार्टीमा असंलग्न तटस्थ युवापुस्ता मात्रै होईन पार्टीकै युवाहरु पनि उनीतिर आकर्षित छन्। ०७४ सालको संसदीय चुनावसम्म आइपुग्दा सामाजिक सञ्जालमा मिश्रको लोकप्रियता चरमचुलीमा थियो । तर, काठमाडौं–१ मा प्रकाशमान सिंहसँग उनी पराजित भए। थोरै मतले चुकेका उनी यस पटक पुन उम्मेदवार बन्दैछन्। उनको प्रतिस्पर्धा फेरी पनि प्रकाशमानसँगै हुने प्राय निश्चित छ।

ज्ञानेन्द्र शाही
राप्रपाका अर्का लोकप्रिय नेता हुन ज्ञानेन्द्र शाही। लामो समय ‘हाम्रो नेपाल, हामी नेपाली’ नामकको अभियान मार्फत भ्रष्टाचार विरोधी अभियान चलाएका शाही अहिले राप्रपाको प्रबक्ता छन्। 

शाही चलेको नेता नभए पनि सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका ब्यक्ति हुन। उनका हजारौं फ्यान छन् । सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न गाउँ गाउँ पुग्थे।

उनले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । शाही जुम्लाकै सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । उनले आफ्नो जन्मभूमि जुम्ला नै रहेकोले जुम्लाबाट नै निर्वाचन लड्ने तयारी गरेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट ०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ २२ हजार १ सय ७३ मत ल्याएर विजयी भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ हजार मतले हराएका थिए ।

रेखा थापा
राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी चर्चित नायिका रेखा थापा मोरङ ३ बाट चुनाव लड्दैछिन्। केही समय अघि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा रेखाले महिलातर्फबाट महामन्त्री पदका लागि उम्मेदवारी दिएकी थिइन्। तर, चुनावमा भने उनी पराजित भइन्।

उनलाई पार्टी जिल्ला कमिटीले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ। रेखा थापाको जन्मस्थान यही निर्वाचन क्षेत्र अन्तर्गत सलकपुरमा पर्छ। आफू हुर्केको ठाउँ भएको र युवाको मत तान्न सक्ने भएकाले चुनाव जित्ने थापाको दाबी छ।

मोरङ–३ एमाले नेता भानुभक्त ढकालको क्षेत्र हो। यो क्षेत्रमा कांग्रेसका नेता सुनिल शर्मा पनि ०७४ को निर्वाचनमा लडेका थिए। ढकाल यही क्षेत्रबाट लड्ने पक्का भएपनि शर्माको भने अहिलेसम्म टुंगो लागेको छैन्। पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैचा नगरपालिका र कानेपोखरी गाउँपालिकालाई समेटेर बनेको निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघि एमाले नेता भानुभक्त ढकाल निर्वाचित भएका थिए।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसका सुनिल कुमार शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए। स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा मोरङ ३ मा राप्रपा चौंथो स्थानमा छ। यहाँ नेकपा एमालेले ३७ हजार ४ सय १० मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार ९ सय १६ र नेकपा माओवादी केन्द्रले ७ हजार ३ सय ७३ मत पाएको देखिन्छ। 

राप्रपाको वडागत मत २ हजार १ सय २१ छ भने एकीकृत समाजवादीको १ हजार ८ सय ५५ र जसपाको ४ सय ६३ मत छ। 

ख्रेखाको भित्री चाहना भने नेकपा एमालेसँग तालमेल भए मात्रै उम्मेदवार बन्ने रहेको उनी निकटहरु बताउँछन् । मोरङ–३ मा एमालेको संगठन बलियो छ ।

विशेष