News

प्रचण्ड गोरखाबाट चुनाव लड्ने पक्का, चितवन छोड्ने यस्ता छन् ५ कारण

प्रचण्ड गोरखाबाट चुनाव लड्ने पक्का, चितवन छोड्ने यस्ता छन् ५ कारण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट उम्मेदवार नबन्ने भएका छन्। दाहाल पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा २ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ।

पूर्वप्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरिसकेकाले गठबन्धनका तर्फबाट दाहाललाई गोरखा जान थप सहज भएको दाहाल निकट नेताहरु बताउँछन्।

दाहालको निर्वाचन क्षेत्र चितवन–३ का नेता तथा वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले फेसबुक मार्फत यसको जानकारी सार्वजनिक गरिसकेका छन्। दाहालले निर्वाचन क्षेत्र परिवर्तन गर्नुको कारण भने ‘देशभित्र र बाहिरका परिवर्तनविरोधी’ शक्ति भएको पनेरुको आरोप छ।

‘देशभित्र र बाहिरका परिवर्तनविरोधी’ हरुका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको भन्दै उनले चितवन र ३ नम्बर क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएको बताएका छन्।

यसको असर गठबन्धन र चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्ने चेतावनीसमेत उनले दिएका छन् । तर स्थानीय नेता/कार्यकर्ताहरुका अनुसार दाहालले निर्वाचन क्षेत्र छोडनु पर्ने ५ वटा कारण स्पष्ट रुपमा देखिएका छन्।

भुईकटहरको चिन्ता
श्रोतका अनुसार चितवन– ३ मा कांग्रेसको एउटा समुह (भुईकटहर समुह) माओवादी तथा अध्यक्ष दाहाल र दाहाल पुत्री रेणुको तिव्र विरोधमा छ। दाहाल र उनकी छोरी रेणुका कारण चितवनमा कांग्रेसको अस्तित्व संकटमा परेको उनीहरु बताउँछन्।

उक्त समूहले दाहाल विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने तय गरिसकेको श्रोतले जनाएको छ। स्थानीय तह निर्वाचनको परिणामले पनि दाहाल उक्त समुहसँग सशंकित छन्। अनेक प्रपञ्च गरेर चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणुलाई गठबन्धनको उम्मेदवार बनाउन सफल भएपनि उनी विरुद्ध कांग्रेसको असन्तुष्ट समुह बाधक बनेको थियो। जगन्नाथ पौडेलले रेणु विरुद्ध उम्मेदवारी दिएपछि कांग्रेसको ठुलो तप्का उनको पक्षमा खडा भएको थियो।

प्रतिनिधि सभा निर्वाचनमा पनि उक्त समुहले ब्यवधान उन्पन्न गर्न सक्ने दाहालको विश्लेषण रहेको उनी निकट श्रोतले जनाएको छ।

एमाले र राप्रपाका विक्रम पाण्डेबीच सहकार्य
आसन्न निर्वाचनमा एमालेले राप्रपा लगायत विभिन्न आधा दर्जन पार्टीसँग तालमेल गर्ने प्रयास जारी राखेको छ। चितवनमा पनि एमाले र राप्रपाका विक्रम पाण्डेबीच सहकार्यको तयारी छ । पार्टी उपाध्यक्ष समेत रहेका पाण्डे चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्नेछन्। 

०७४ को चुनावमा तत्कालीन राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रमलाई नै ९ हजार बढि मतले हराएर दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रचण्डले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत पाए। त्यसबेला एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।

रवि लामिछाने फ्याक्टर
चितवन ३ बाट रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेको छ। लामिछाने यो क्षेत्रमा उम्मेदवार बने युवा पुस्ताले उनलाई सघाउनेमा कुनै शंका छैन। 

चुनावी खर्च
पिता पुत्री नै चितवन केन्द्रित भएपछि उनीहरुको हिमचिम यस क्षेत्रमा धेरै छ। यस अर्थमा चिनजान भएका र आश्वासन पाएका मान्छे पनि धेरै छन्। अपेक्षा गर्नेको संख्या पनि ठुलो छ। त्यसैले यस पटकको निर्वाचनमा खर्च धेरै हुने आँकलन गरिएको छ। खर्च पनि हुने र जितको सुनिश्चितता पनि नहुने भएपछि क्षेत्र छोड्नु नै उपयुक्त हुने दाहाल निकट टिमको विश्लेषण रहेको बताईन्छ।

सुरक्षित हुन
०७४ सालको चुनावमा गोरखा–२ बाट डा. भट्टराई निर्वाचित भएका थिएर गठबन्धनमै रहेका भट्टराईले चुनाव नलड्ने घोषणा गरिसकेका छन भने दाहाललाई सहयोग गर्ने आश्वासन समेत दिएको श्रोतको दाबी छ।

तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ पनि अहिले राष्ट्रिय सभामा भएका कारण दाहाललाई गोरखा जान सहज छ। चितवनमा चुनाव लड्नु दाहालका लागि जोखिम हुने भन्दै यसअघि नै गोरखामा लैजाने पहल भइरहेको थियो । 

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा–२ अन्तर्गत पर्ने वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा माओवादी बलियो छ। माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।

पार्टीको आन्तरिक सर्वेक्षणले पनि दाहालका लागि चितवन–३ सुरक्षित नरहेको संकेत गरेको छ।

यो पनि,

पुष्पकमल दाहाल

विशेष