News

अनौठो अन्तरबर्ताः रामकुमारी झाँक्री र धमलाको पोल खोलाखोल

अनौठो अन्तरबर्ताः रामकुमारी झाँक्री र धमलाको पोल खोलाखोल

अन्तरबार्ता दिन पुगेकी नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री र संचारकर्मी ऋषि धमलाका बीचमा टेलिभिजनको स्टुडियोमा नै पोल खोलाखोल भएको छ। केही दिन अघि धमलाले झाँक्रीसँग लिएको अन्तरवार्तामा ‘नेताहरुले राजनीतिलाई कमाई खाने भाँडो बनाएको’ भन्दै आरोप लगाएपछि दुईजनाबीच भनाभन भएको हो।

अन्तरबार्ताको अधिकांश समयमा दुवै जनाले अस्वभाविक रुपमा एकअर्कालाई हस्तक्षेप गरेका छन्। सवाल र जवाफको तालमेल मिलेको छैन। प्रश्न सोध्ने र उत्तर दिने भन्दा पनि आफु मात्रै बोलेको देखिन्छ। कस्ले के सोध्यो र कस्ले के बोल्यो भन्दा पनि दुवै जना आफ्ना कुरा राख्नमा प्रतिस्पर्धा गरेको देखिन्छ।

अन्तरबार्ताका क्रममा धमलाले ‘राजनीति भनेकै सत्ता र स्वार्थका लागि भयो, जनतालाई सधैं पीडामा राख्ने? जनतालाई के दिनु भयो?’ भनेर प्रश्न गरेपछि झाँक्रीले उनलाई उल्टै ‘तपाईले चाहीँ जनताका लागि के गर्नु भो ?’ भनेर प्रतिप्रश्न गरेकी छिन्। उनले भनेकी छिन–‘सत्ता वाहिर वसेर गर्ने भए त तपाईले गर्नु हुन्थ्योनी त। सत्ता वाहिर वसेर तपाईले गर्न सक्नु भएन।’

धमलाले ‘राजनीति भनेको सत्ताको लागि होईन है, राजनीति भनेको सेवा मुलक हो। जनताको लागि सेवा गर्नोस’ भनेर राजनीतिक उदेश्य बुझाउने प्रयास गरेका छन्। तर, धमलाको प्रश्न गर्ने शैली र बीचैमा कुरा काट्ने बानीले तिलमिलाएकी झाँक्रीले ‘तपाईले राजनीतिलाई के बुझ्नु भाछ? पहिला भन्नु त राजनीतिलाई के बुझ्नुभाछ?’ भन्दै जवाफ दिएकी छिन्।

त्यसपछि धमलाले ‘राजनीति भनेको मागि खाने भाँडो भईसक्यो अहिले त’ भनेपछि झाँक्री भन्छिन्–‘त्यही हो भने तपाईले पनि मागिखाने भाँडो चलाईरनु भाछ, भन्नुपरो।’ धमलाले फेरी ‘राजनीति भनेको तपाईलाई थाहा छ?’ भनेर सोधेपछि झाँक्रि अझै आवेगमा आएर ‘राजनीति भनेको तपाईलाई थाहा छ त? तपाईले पनि यो टेलिभिजन विज्ञापन मागेर खानका लागि चलाएको हो, तपाईले सेवा गरेको हो?’ भन्दै जवाफ फर्काउँछिन्।

‘यतिवटा कम्पनी (विज्ञापान दाताको बोर्ड देखाउँदै) बाट विज्ञापन मागेर खान तपाईले टेलिभिजन चलाएको होईन?’ भन्दै झाँक्री थप्छिन्–‘तपाईको निजी पेट भर्ने कुरा चै समाज सेवा हुने, हामी चै भोको पेट, जनताका सारा कुरा सुनेर, जिन्दगीका सारा मामलामा सम्झौता गरेर आएको राजनीति भनेको चै तिमिहरुका ब्यक्तिगत मामला हो भन्न मिल्छ?’

‘ब्यक्तिगत स्वार्थका लागि काम गर्छन क्या, देश र जनताको लागि काम गर्ने नेता यो देशमा भएन, धेरैको प्रश्न छ। तपाईले कुन चै देश र जनताको लागि गर्नु भो देखाउनु न पहिला, परिवारका लागि, आफन्तका लागि, नातागोताका लागि काम गर्ने नेता छन्...’ भन्दै धमलाले थप प्रहार गरेपछि ‘तपाईले पनि त तेही गर्नुभाछ। छोराछोरीका लागि। तपाईले पनि त तेही गर्नुभाछ।’ भन्दै झाँक्रीले उत्तर दिएकी छिन्।

‘हाम्रो देशको अवस्था हेर्नोस त रामकुमारी जी, नेताहरु सेवामुखी भएनन् क्या, विलासी जिवन विताए नेताहरुले हेर्नोस त’ भन्दै धमलाले गरेको प्रश्नमा झाँक्रीले ‘विषयान्तर नगर्नोस न। विषयान्तर गरेर होईन। पोल्टिकल विषयमा, विचारधाराको विषयमा गफ गरौं क्या । कम्तीमा यो पाएको प्राईम टाईममा जनतालाई कुन विषयमा एजुकेट गरौं। आज निर्वाचनमा जाऔं।’ भन्दै सुझाव दिएकी छिन्।

त्यसपछि धमलाले ‘एजेन्डामै छलफल गरौंन। जनता आज समस्यामा छन् भनिराखेको छु। तपाईले काम गर्न सक्नु भएन भन्ने मेरो प्रश्न होनी त’ भनेपछि झाँक्रीले भनेकी छिन्–‘तपाईले त्यत्तिकै सक्नु भएन भनेर यहाँ आएर तपाईका अगाडि मैले जम्मै प्रश्नको सकें भने त जवाफ दिन टाईम पनि हुँदैन।’

उनको यो जवाफ पछि धमलाले ‘होईन आज ३० वर्षमा यो देशमा छ नी, के विकास भयो भन्नोस त।’ भन्दै प्रश्न गर्छन। त्यसपछि झाँक्री भने देशमा सवै कुरा भएको र अव गर्न बाँकी नै केही नभएझै गरी प्रश्तुत हुन्छिन्। उनी उल्टै प्रश्न गर्छिन–‘तपाईले के भएन भन्नुभएको भन्नु त। के विकास चाहिएको थियो तपाईलाई त्यो भननु न त। एक, दुई, तीन के विकास चाहिएको थियो?’

त्यसपछि धमला झाँक्रीको सवालको जवाफ दिदै थप प्रश्न गर्छन। ‘आज हामी देशको कुरा गरौ न, आज सिंगापुर कहाँ पुग्यो? मलेसिया कहाँ पुग्यो, दक्षिण कोरिया कहाँ पुग्यो? आज चीनमा ३० वर्षमा कति प्रगति भयो, भारतमा कति प्रगती भयो? नेपालमा किन विकास भएन? जनमुखी नेता खै?’

झाक्रीले त्यसको कमजोरी मिडियामाथि थोपर्छिन। ‘तपाईले आर्थिक एजेन्डामा छलफल गराउनुभाछ कहिलै? अनि खाली राजनीतिले भएन भनेर मात्रै हुन्छ? हो, यसरी तपाई विषयगत छलफल गराउनु न। सिंगापुरमा किन विकास भयो, मलेसियामा किन भयो? नेपालमा किन भएन। आर्थिक एजेन्डामा छलफल गर्नुभाछ? राजनीति भनेको कमाई खाने भाँडो, यो, त्यो भन्नुभाछ। जहिले पनि गलत मार्केटिङ गर्नुभाछ। गलत प्रिजेन्टेसन गर्नुभाछ। तपाईहरुले यस्तो नेगेटिभ एक्टिभिटीहरुलाई यसरी बढावा दिनुभाछनी।’

उनको कुरा सकिन नपाउँदै धमलाले फेरी ‘होइन नेताहरुले जनताको लागि काम गरेनन् भन्ने मेरो प्रश्न हो क्या?’ भन्दै प्रश्न सम्झाउँछन्। जवाफमा झाँक्री भन्छिन–‘कसरी नेताले जनता... कस्ले गर्याछ त अहिलेसम्म त्यसो भए कल्ले गर्याछत?’ 

उनको यो जवाफ पुरा नहुँदै धमलाले फेरी समानुपातिक सूचिको कुरा उठाउँछन्। ‘समानुपातिक हेर्नोस त। नेतालाई आफ्नो मान्छे चाहिएको छ, श्रीमती चाहिएको छ। नातागोता चाहिएको छ। दुख पाएका, कष्ट गरेका, त्याग गरेका, तपस्या गरेका, संघर्ष गरेका मान्छेहरु हुँदैनन।’ भन्दै उनले राखेको जिज्ञासामा भने झाँक्री पन्छिन खोजेकी छिन। उनी भन्छिन्–‘ठिकै छ, ती विषय हुन भने पनि त त्यसको छलफल गर्ने थलो फरक होलानी। त्यसको छलफल गर्न को– कोले राखे, के–के राखे तिनको योगदान थियोकी थिएन।’ 

धमलाले नेताहरु असफल भए नि ? भनेर पनि टिप्पणी गरेका छन्। त्यसमा पनि झाँक्रीले आपत्ति जनाईन् । उनले भनिन–‘नेताहरु कसरी असफल भए ? मलाई पहिले तथ्य दिनुहोस ।’ उनले ३० वर्षअघि जनताको अवस्था के थियो त ? भन्दै उल्टै धमलालाई प्रश्न गरिन् । 

विशेष