News

झापामा एमालेको भागवण्डा, राप्रपाको भागमा लिङ्देनलाई एक सिट

झापामा एमालेको भागवण्डा, राप्रपाको भागमा लिङ्देनलाई एक सिट

नेकपा एमालेले राप्रपालाई एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश छाडेर झापाका पाँचवटै संघीय र प्रदेश सांसदका उम्मेदवारको टुंगो लगाएको छ। पाँच संघीय र १० वटा प्रदेश निर्वाचन क्षेत्र रहेको झापामा एमालेले चार संघीय र आठ प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको हो।

झापा क्षेत्र नम्बर १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सारेर उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफारिस भएका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ।

क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन्। क्षेत्र नम्बर ३ भने एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छोडेको छ। त्यस्तै क्षेत्र नम्बर ४ मा लालप्रसाद (एलपी) सावाँ लिम्बू पुनः उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन्।

प्रदेशतर्फ क्षेत्र १ को ‘क’ मा एमाले केन्द्रीय सदस्य कोइराला, १ को ‘ख’ राप्रपाको भागमा परेको छ। क्षेत्र २ को ‘क’ बाट निवर्तमान सांसद एकराज कार्की, ‘ख’ बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक, ३ ‘क’ मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ, ‘ख’ मा एमाले केन्द्रीय सदस्य हरि राजवंशी उम्मेदवार हुनेछन्। 

क्षेत्र ४ ‘क’ मा एमालेका राधाकृष्ण खनाल र ४ ‘ख’ मा राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। ५ को ‘क’ मा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ‘ख’ मा प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बन्ने निश्चित भएको छ।

झापामा तेस्रो शक्ति रहेको राप्रपासँग एमालेको तालमेल भए स्थानीय चुनावको मतभारका तुलानामा  सत्ता गठबन्धन सबै क्षेत्रमा पछाडि पर्ने देखिएको छ ।

कुन क्षेत्रमा कस्तो समीकरण ?
झापा–१ मा एमालेका अग्नि खरेल र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रतिस्पर्धा हुने देखिएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले सबैभन्दा अगाडि देखिएको छ । एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ३१ हजार २३२ मत ल्याएका थिए भने राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाएको मत ५ हजार ९२२ छ। गठबन्धन दलका उम्मेदवारले २९ हजार २१६ मत पाएका थिए।

झापा–२ मा एमाले वडाध्यक्षका उम्मेदवारहरूले ३६ हजार ३९६ मत ल्याएका थिए भने राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूको मत ९ हजार ५३१ छ। सत्तारूढ गठबन्धनका उम्मेदवारहरूको मत ३५ हजार ७८८ छ।

०७४ मा राप्रपाका राजेन्द्र लिङदेनले कांग्रेसका कृष्ण सिटौलालाई हराएको झापा–३ मा एमालेको मत २१ हजार ८५ छ भने  राप्रपाका वडाध्यक्षका उम्मेदवारहरू मत २१ हजार १५९ छ। एमाले र राप्रपाको मत जोड्दा यहाँ ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत हुन्छ ।

झापा–४ मा एमालेका उम्मेदवारहरूले ३१ हजार २७२ मत पाएका छन् भने राप्रपाका उम्मेदवारको मत ४ हजार ५५६ छ। गठबन्धनका उम्मेदवारले ३५ हजार ६०७ मत पाएका छन्। झापा–५ मा एमालेका उम्मेदवारले ४१ हजार ६१९ मत ल्याउँदा राप्रपाको ८ हजार ३५३ मत छ ।

यो क्षेत्रमा सत्तारूढ गठबन्धनको मत ३४ हजार ७९८ मत छ ।

विशेष