News

किन यति धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्छन प्रचण्ड र उपेन्द्र ?  

किन यति धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्छन प्रचण्ड र उपेन्द्र ?  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन क्षेत्र परिवर्तन गर्न जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत पछि पारेका छन्। पटक पटक निर्वाचन क्षेत्र परिबर्तन गर्ने नेताका रुपमा चिनिएका यादवलाई पछि पार्दै अध्यक्ष दाहाल यस पटक गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका हुन।

माओवादी केन्द्रको पदाधिकारीको बैठकले दाहाललाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल ०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ५ र काठमाडौं १० बाट उम्मेदवार बनेका दाहाल काठमाडौं १० मा पराजित भएका थिए ।

०६४ सालको पहिलो संविधानसभा चुनावमा दाहाल काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित भएका थिए ।

यता, निर्वाचन क्षेत्र परिबर्तन गर्नेमा अध्यक्ष यादव पनि चर्चित छन्। ०६४ साल यता उनले पटकपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । ०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्रले ०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए ।

०७४ को प्रतिनिधिसभा चुनाव भने उनले सप्तरी– २ बाट जिते। यस पटक भने उनले दोहो¥याएर सप्तरी दुईबाटै उम्मेदवारी दिने जनाईएको छ।

दाहाललाई चिनवनभन्दा गोरखा सहज
दाहालका लागि चितवन भन्दा गोरखा सुरक्षित देखिएकाले पार्टीले नै निर्णय गरेर उनको निर्वाचन क्षेत्र परिवर्तन गरिएको जनाईएको छ। जानकारी अनुसार दाहालले स्थानीय तह निर्वाचनअघि नै चितवन छाडेर अन्यत्र सुरक्षित सीट खोजिरहेका थिए।

गठबन्धनको बलियो सहयात्री कांग्रेसभित्रको विवादले आकार लिँदै गएपछि दाहाल स्वयंले चितवन– ३ को विकल्प खोज्न थालेको बताईन्छ। गोरखा– २ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि सहज बनाईदिएका छन्।

माओवादी एक्लै जित्ने आंकलन गरिएको सो क्षेत्रमा बाबुराम समेत थपिएपछि कांग्रेसको समर्थन नै नभए पनि प्रचण्ड सहज जित्ने अवस्था छन् । स्वतन्त्र उम्मेदवारहरु तथा एमाले राप्रपा फ्याक्टरका साथै कांग्रेसकै भुईंकटहर समूहसमेत सक्रिय रहेकाले चितवनभन्दा गोरखा दाहालका लागि जोखिममुक्त क्षेत्र रहेको नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार चितवन– ३ मा माओवादी केन्द्र एक्लै जित्नसक्ने अवस्था छैन। ०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट जितेका उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र सिंगो माडी नगरपालिका समावेश छ । गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनबाट प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरकी मेयरमा पुनः निर्वाचित भएकी छन् । उनको जीत गठबन्धनकै भरमा सम्भव भएको हो।

दाहालको को निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३÷३ वडा जितेका छन् भने नेकपा एसले २ वटा र १ वटा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

माडीमा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयर भने कांग्रेसले जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २÷२ तथा एमालेले एउटा जितेको छ ।

योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४÷४ वडा, राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् । वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मतमात्रै प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् । नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ । वडामा गठबन्धनका साझा उम्मेदवार भएकाले एमालेको मत बढी देखिएको हो ।

सत्तारूढ गठबन्धनले सरासर मत दिए यहाँ प्रचण्डको जीत सुरक्षित देखिन्छ । तर, कांग्रेसका आधा मतदाताले नै मत नदिने हो भने प्रचण्डका लागि यो चुनाव घातक बन्नसक्छ । कांग्रेसभित्रकै समीकरणअनुसार पनि यहाँ शेखर–गगन समूह नै बलियो छ । अहिले कांग्रेसभित्रको विवाद बढ्दै जाँदा यो समूहले गठबन्धनलाई भोट नदिने रणनीति अख्तियार गर्ने खतरा बढेको छ ।

उता चितवन– ३ का तुलनामा गोरखा– २ मा माओवादी केन्द्र निकै बलियो छ । यहाँ वडागत मतमा माओवादी केन्द्र २२ हजार २५० मतसहित पहिलो छ भने बाबुराम भट्टराईको पार्टीसँग ७ हजार ५०४ मत छ । । कांग्रेससँग २१ हजार १३६ मत र एमालेसँग ७ हजार ९२६ र राप्रपासँग ८७८ मतमात्रै छ । 

विशेष