भीम रावलले टिकट नपाएपछि एमालेका ४० जनाले दिए राजिनामा

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्लीसहित छन् ।
पार्टीको निर्णयप्रति असहमति जनाउँदै उनीहरुले पार्टी छाडेका हुन। अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएका थिए ।
बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।
यसअघि, घनश्याम भुसालले पनि पार्टी छोडेका थिए। ७४ को निर्वाचनमा आफूले विजय हासिल गरेको रुपन्देही–३ मा एमालेले उपाध्यक्ष दीपक बोहोरालाई सघाउने भएपछि एमाले स्थायी समिति सदस्य समेत रहेका भुसालले केही घण्टाअघि मात्रै एमाले परित्याग घोषणा गरिसकेका छन्।
एमालेभित्र भुसाल र रावल दुवै जना अध्यक्ष ओलीको कटु आलोचक मानिन्थे। घनश्याम भुसालले एमाले छाडेपछि रावलले आफु पनि अध्ययन गरिरहेको जनाएका छन्।
‘घनश्यामजीजस्तै म पनि पार्टीबाट उम्मेदवार बन्न बञ्चित भएको व्यक्ति हुँ’ उनले भनेका थिए ‘के गर्ने भन्ने कुरा अध्ययन गर्दैछु।’