News

आफनै सरकार ढालेका मनाङेलाई फेरी पनि एमालेको समर्थन

आफनै सरकार ढालेका मनाङेलाई फेरी पनि एमालेको समर्थन

गण्डकी प्रदेशमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन सहयोग गरेका दीपक मनाङे फेरी पनि एमालेको समर्थनमा प्रदेश सांसद बन्ने तयारीमा छन्।

०७४ को चुनावमा पनि मनाङेले एमालेको समर्थनमा नै चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन भएकाले माओवादी केन्द्रले पनि उनलाई नै मत दिएको थियो । तर मनाङेले कांग्रेसलाई समर्थन गर्दै गुरुङ नेतृत्वको सरकार ढालेका थिए।

मनाङे अहिले नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री छन् । मनाङेलाई यसपटक पनि नेकपा एमालेले समर्थन गर्ने भएको छ । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवार बनेका छन्।

एमाले उपमहासचिव गुरुङले भने यस पटक प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभामा चुनाव लड्न चाहे पनि पार्टी नेतृत्वले उनलाई प्रतिनिधिसभामै लड्न दबाब दिएको थियो ।

सातौं पटक चुनाव लड्न लागेका गुरुङ यस चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङसँग आमनेसामने छन् । देव गुरुङ र पृथ्वीसुब्बा भिड्न आँटेको यस क्षेत्रमा गत स्थानीय चुनावमा १ लाख ३१ हजार ४९४ मतदाता थिए ।

यहाँको निर्वाचनमा दुवैलाई गाह्रो हुने देखिन्छ । स्थानीय तह प्रमुखको चुनावमा नेकपा एमाले एक्लैको मत गठबन्धनको मतभन्दा थोरैमात्र बढी छ । नेकपा एमालेले ८ पालिकाको प्रमुखमा कुल ४२ हजार ७२१ मत पाएको थियो ।

यता गठबन्धनका दलमध्ये नेपाली कांग्रेसको ३६ हजार ४१२, माओवादी केन्द्रको ४ हजार ६५१ मत छ। नेकपा एमाले र गठबन्धनको प्राप्त मतको अन्तर १ हजार ६५८ छ । 

विशेष