आफैले हप्काएका युवासँग देउवाको चुनावी प्रतिस्पर्धा, ढकालको उम्मेदवारी दर्ता
![आफैले हप्काएका युवासँग देउवाको चुनावी प्रतिस्पर्धा, ढकालको उम्मेदवारी दर्ता](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/dhakal-deuwa.jpg)
प्रधानमन्त्री तथा नेपाली कांगेसका सभापति शेरबहादुर देउवा विरुद्ध गुल्मीका युवा सागर ढकालले मनोनयन दर्ता गराएका छन्। ढकालले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। पाँच वर्षअघि प्रधानमन्त्री देउवाले एउटा कार्यक्रममा ढकाललाई ‘तपाई चुप लाग्नोस, तपाईं बढ्ता बोल्दैहुन्छ’ भनेर हप्काएका थिए।
‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरे बापत हप्काई खाएका तिनै ढकाल अहिले देउवा विरुद्ध चुनावमा उभिएका छन्। उनले ४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीतिमा आएको बताएका छन्।
उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे।
ढकालले उम्मेदवारी दिएको यस क्षेत्रबाट नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल पनि एमालेको समर्थनसहित चुनावी मैदानमा छन्। देउवाले भने पत्नी डा. आरजू राणामार्फत् मनोनयनपत्र दर्ता गराएका छन्। कार्यव्यस्तताका कारण उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका हुन्।
देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन्। यहाँबाट ६ पटक सांसद बनिसकेका देउवा पाँचौंपटक प्रधानमन्त्री छन्।