News

नेपालका कम्युनिस्टले धोका दिएको चीनको निष्कर्ष, कांग्रेससँग सम्बन्ध बढाउने प्रयास 

नेपालका कम्युनिस्टले धोका दिएको चीनको निष्कर्ष, कांग्रेससँग सम्बन्ध बढाउने प्रयास 

काठमाडौं- २०७४ को निर्वाचनमा ठूलो महात्वाकांक्षाका साथ चिनियाँ कम्युनिस्ट पार्टी र जनगणतन्त्र चीन सरकारले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरुलाई मिलाउन भरपूर सहयोग गर्‍यो। चिनियाँ योजना अनुसार नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेल भयो।

 चुनावी तालमेलले सकारात्मक परिणाम ल्याएपछि दुबैले पार्टी एकता गरेर र कम्युनिस्ट नेतृत्वको सरकार बनाए। 

दुई ठूला कम्युनिस्ट पार्टीहरुलाई मिलेपछि चीनले पनि अब नेपालमा कम्युनिस्ट राज भएको र आफू अनुकुलका कामहरु गर्न सकिने अपेक्षा राखेको थियो। तर, चीनको उक्त अपेक्षा भने अधुरै रह्‍यो। एक चुनावबाट अर्को चुनावसम्म नपुग्दै दुई कम्युनिस्टहरु मिलेर बनेको नेकपा तीन टुक्रामका विभक्त भयो। 

चीनले नेपालमा आफ्नो महत्कांक्षी परियोजना बीआरआईलाई कम्युनिस्ट नेतृत्वकै सरकारका पालामा अघि बढाउन खोजेको थियो। त्यो योजनामा पनि नेपालका कम्युनिस्टहरुले तुहाइ दिए। 

चीनले नेकपा विभाजनलाई रोक्‍न ठूलो लगानी र सहयोग गरे पनि सफल हुन सकेन। अन्तत: चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्टहरुले धोका दिएको र विश्‍वास गर्न लायक नरहेको निष्कर्ष निकालेको छ। 

हाल चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको पुरानो र जेठो पार्टी नेपाली कांग्रेस नै विश्‍वासीलो भएको भन्दै कांग्रेससँग नै सम्बन्ध विस्तार गर्दै सुमधुर सम्बन्धलाई अघि बढाउन चाहेको देखिन्छ। सोही अनुरुप चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले नेपालका राजदूतमार्फत चीन सरकारले नेपाल सरकारसँग अझ प्रगाढ सम्बन्ध बनाउन चाहेको सन्देश पठाएका हुन्। 

नेपाल सरकारले आफूले गरेका प्रतिबद्धताहरु पूरा गरेको र आगामी दिनमा अहिलेको नेतृत्वको सरकारसँग नै मिलेर अघि बढ्न चाहेको सन्देश पठाएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बताएका छन्। उनका अनुसार चिनियाँ प्रधानमन्त्री लीले नेपालसँगको सम्बन्धबारे चीन गम्भीर र संवेदनशील रहेको बताएका छन्। 

चीन सरकारले हरेक वर्ष अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापनाका अवसरमा सेप्टेम्बर ३० का दिन विशेष कार्यक्रम आयोजना गर्ने गर्दछ। त्यही अवसरमा नेपाललगायत विभिन्न मुलुकका राजदूतहरूलाई बोलाइएको थियो। 

चिनियाँ प्रधानमन्त्री लीले सबै राजदूतसँग एक्लाएक्लै भेटेर छोटो कुराकानी गरेका थिए। 

सोही क्रममा चिनियाँ प्रधानमन्त्रीसँग एक्लै छोटो कुराकानी गर्ने मौका मिलेको राजदूत श्रेष्ठले बताए। उनले नेपालसँग चीनको सम्बन्ध सुमधुर रहेको र अबका दिनमा त्यसलाई अझ प्रगाढ बनाउन चाहेको बताएको जनाएका छन्। चिनियाँ प्रधानमन्त्री लीले नेपाललाई सबै खालका सहयोग गर्न चीन तयार रहेको पनि बताएका थिए। 

श्रेष्ठले चिनियाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री देउवाले चिनियाँ कम्युनिस्ट पार्टी र जनताका लागि आसन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको सफलताको कामना गर्दै पठाएको सन्देश पनि सुनाए। 

राजदूत श्रेष्ठका अनुसार प्रत्युत्तरमा चिनियाँ प्रधानमन्त्री लीले भने, ‘तपाईंका प्रधानमन्त्रीलाई पनि मेरो सन्देश सुनाइदिनुहोला। नेपाल सरकार र जनताप्रति हाम्रो पूरापूर शुभेच्छा छ। सबै खालको सहयोग गर्न चीन तयार छ भन्ने मेरो सन्देश सुनाइदिनुहोला।’ 

निर्वाचन नजिकिँदै गर्दा नेपालको राजनीतिक परिस्थितिलाई चीनले नजिकबाट नियालिरहेको बताइएको छ। नेपालमा अमेरिकाको भूराजनीतिक सक्रियताबीच छिमेकी चीनका तर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेका छन्। 

यसअघि मार्चमा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ र त्यसपछि जुनमा नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले पनि नेपाली कांग्रेससँगको सम्बन्धका विषयमा चर्चा गरेका थिए। 

सेप्टेम्बर दोस्रो साता चीनका प्रभावशाली नेता ली चान्सुले पनि कम्युनिस्ट पार्टीभन्दा नेपाली कांग्रेसलाई नै महत्वका साथ भेटवार्ता र छलफल गरेको थियो। 

यी सबै घटनाक्रमहरुले चीनले पछिल्लो समय नेपाली कांग्रेस र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको कुरा स्पष्ट हुन्छ।

विशेष