News

रविले मनोनयन दर्ता गर्दै भने– म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवन भर

रविले मनोनयन दर्ता गर्दै भने– म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवन भर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । यसअघि उनले चितवन–३ बाट उठ्ने चर्चा थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रबाट उठ्ने योजना बनाएका उनले दाहालले गोरखाबाट मनोनयन दर्ता गराएपछि चितवन–२ रोजेका हुन् । लामिछानेले आइतबार दिउँसो भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

लामिछाने आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेर ९ दिनसम्म चितवन जिल्ला प्रहरी हिरासतमा बसेका थिए। त्यसबेला उनका पक्षमा भरतपुरमा दिनहुँजसो विशाल प्रदर्शन भएको थियो ।

नुवाकोट घर भएर काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी २०७६ सालको साउन २० गते नारायणगढको एक होटलमा मृत फेला परेका थिए । उनी लामिछानेका पूर्वसहकर्मी पनि थिए ।

चितवन जिल्ला अदालतले उनलाई २०७६ सालको भदौ ९ मा पाँच लाख रूपैयाँ धरौटीमा रिहा गरेपछि जम्मा भएको भिडलाई सम्बोधन गर्दै उनले राजनीतिमा आउने संकेत दिएका थिए ।

लामिछानेले उम्मेदवारी दर्ता गरेपछि पनि उक्त प्रसंग उल्लेख गरेका छन्। उनले चितवनले लगाएको गुन जिन्दगीभरी तिर्ने बताएका छन्। ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो।म आँखामा अन्योल बोकेर चितवन आएको थिएं’ ट्वीटरमा लेखेका छन्– ‘अर्को समय आज छ, जहाँ म आफ्नै इच्छाले आँखा भरी सपना बोकेर चितवन नै आएको छु।म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर।’

रवि लामिछाने

विशेष