News

डेंगुबाट मृत्यु भएका शेखरचन्द्र थापाकी श्रीमतीलाई टिकट माग्दै प्रदर्शन

डेंगुबाट मृत्यु भएका शेखरचन्द्र थापाकी श्रीमतीलाई टिकट माग्दै प्रदर्शन

सत्ता गठबन्धनबाट मोरङ क्षेत्र नम्बर ३ (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएपछि कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ। तर, कांग्रेस कार्यकर्ताले त्यसको विरोध गरेका छन् ।

क्षेत्र नम्बर ३ (क) का  उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधन भएपछि पार्टीले लिम्बूलाई टिकट दिएको हो। लिम्बुको मननयन दर्ता भइसकेको छ। त्यसको विरोधमा कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।

कांग्रेस कार्यकर्ताले थापाकी श्रीमतीलाई टिकट दिनुपर्ने माग गरेका छन्। थापाकी श्रीमती लक्ष्मीले टिकट नपाउन्जेल आन्दोलन जारी राख्ने भन्दै उनीहरुले नाराबाजी गरेका छन् । लक्ष्मीले टिकट पाए मन्त्री थापाको आत्माले शान्ति पाउने र सम्मान हुने उनीहरुको तर्क छ।

असोज २४ गते डेंगु पुष्टि भएका थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।  असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए। 

उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आईसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो। निमोनिया समेत भएका थापालाई सोमबार बेड रेस्टका लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो। 
 

विशेष