News

निकुञ्जको कार्यालयबाटै हरायो गैंडाको खाग र बाघको दाँत 

निकुञ्जको कार्यालयबाटै हरायो गैंडाको खाग र बाघको दाँत 

बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो कार्यालयमा राखिएको स्टोरबाट गैंडाको खाग र बाघको दाह्रा गायब भएको छ । पुरानो कार्यालय खाली भएपछि आखेटोपहार राख्ने एउटा कोठा बाहेक अन्यमा महिला गेमस्काउट बस्ने आवास रहेको छ ।

गत साउन २२ गतेअघि घटना भए पनि यसको सार्वजनिक नगरी दसैंअघि गायब पारिएको विभागलाई निकुञ्जले जानकारी गराएको थियो ।


बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले जिन्सी शाखामा रहेको सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघको २५ वटा दाह्रा नभेटिएको बताए । आखेटोपहार राखिएको ठाउँको सुरक्षा जिम्मा नायब सुब्बा नभएका कारण सिनियर गेमस्काउट सुभाष थारुलाई दिइएको थियो ।

नायब सुब्बा सरुवा भइ आएपछि थारुले जिम्मेवारी दिँदा त्यहाँ राखिएको वन्यजन्तुको अंग फेला नपरेको हो । सीसी क्यामेरा नभएका कारण अनुसन्धानमा समस्या भएको निकुञ्ज स्रोतले बताएको छ ।

निकुञ्जका कर्मचारीको आवास त्यहीँ हुनु र सुरक्षाको व्यवस्था कडा भए पनि आखेटोपहार गायब हुनुलाई कर्मचारीको संलग्नता भएको आशंका गरिएको छ । गत असारमा प्राकृतिक कारणले मारिएको गैंडाको खाग सुकाएर जिन्सीमा राख्न लाग्दा अन्य वन्यजन्तुको आखेटोपहार त्यहाँ नभेटिएपछि खोजी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भण्डारीले जनाए । घटनाबारे अहिलेसम्म कसैलाई निलम्बन गरी कारबाही अघि बढाइएको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्ज

विशेष