सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस किन रोकियो ?
![सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस किन रोकियो ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/sandeep-lamichhane-1d1f9.jpg)
बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस मंगलवार भएन । जिल्ला अदालत काठमाडौंमा सो मुद्दामा दुवैको पक्षको बयान भने सकिएको छ।
मंगलबार थुनछेक बहस हुने भनिए पनि बयान मात्र सकिएको हो । बयान सकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सोमबार अभियोजन पत्र दायर भएसँगै मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो। अभियोग पत्र दायर गर्नुअघि सरकारी वकिल कार्यालय र प्रहरीले बयानसहित बुझाएपनि सोमबार अदालतमा उनको छट्टै बयान गराईएको छ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नेकी थुनाबाहिर भन्ने निर्णय भने बुधवार मात्रै हुने जनाईएको छ।
बलात्कार आरोपमा १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने अभियोग पत्रमा माग छ।
एक नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका हुन्। त्यसको एक महिना पहिले उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसामु भने सन्दीपले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। आफूले बलात्कार नगरेको सन्दीपको जिकिर छ। यस्तै पीडित भनिएकी किशोरी पनि नाबालिग नभएको उनको पक्षको दाबी छ।
किशोरीको नागरिकता अनुसार १८ वर्ष मात्रै पुगेको देखिए पनि वास्तविक उमेर भने १९ वर्ष रहेको सन्दीप र उनका कानुन व्यवसायीको दाबी छ।