News

स्वतन्त्र उम्मेदवारीले गठबन्धनका आलेको जित अनिश्चित, कांग्रेसले भाेट नदिए कन्तविजोग हुने 

स्वतन्त्र उम्मेदवारीले गठबन्धनका आलेको जित अनिश्चित, कांग्रेसले भाेट नदिए कन्तविजोग हुने 

सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्री नेकपा एकीकृत समाजवादीका प्रेम आलेलाई स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का चुनौती बनेका छन् । कांग्रेसको मत स्वतन्त्र उम्मेदवार खड्कातिर ध्रुवीकरण हुने देखिएपछि कमजोर सांगठनिक अवस्था भएको एकीकृत समाजवादीका नेता आले सङ्कटमा देखिएका हुन् ।

९ स्थानीय तहको डोटीमा कांग्रेसले ७ मा जितेको थियो । एमाले र माओवादीले एक/एक स्थानीय तहमा जितेका थिए । एसले जित्न सकेको छैन । स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका आले प्रतिस्पर्धी एमालेकी गौरी ओलीभन्दा बलिया देखिन्छन् । गठबन्धन अनुसार कांग्रेसका परम्परागत मतदाताले आलेलाई मत हाल्ने हो भने उनी धेरै मतले निर्वाचन जित्न सक्ने अनुमान छ । तर कांग्रेसका लागि डोटीमा सधैँ प्रतिस्पर्धी रहेका आलेलाई यसपटक जित्नका लागि कांग्रेस मतदाताको भर पर्नुबाहेक अर्को विकल्प पनि देखिँदैन । ‘कांग्रेस नेता कार्यकर्तासँग सबैभन्दा नमिठो सम्बन्ध नै आलेको हो,’ एक पूर्वशिक्षक नारायण खड्काले भने, ‘सत्ता र शक्तिमा हुँदा आलेले आफूहरूसँग गरेको व्यवहारको बदला लिने दाउमा धेरै नेता कार्यकर्ता देखिएका छन् ।’


कांग्रेसको आडमा निर्वाचन जित्ने आकलन गर्दै गठबन्धनका शीर्ष नेताहरूलाई प्रभावित पारेर भागबन्डामा डोटी समाजवादीको भागमा पारेका पूर्वमन्त्री आलेका पक्षमा कांग्रेस मतदाता मात्र होइन नेताहरूसमेत देखिएका छैनन् । ‘जिल्लाका प्रभावशाली कांग्रेस नेताहरू सबै तराई झरेका छन्,’ डोटी गोपघाटका एक कांग्रेस नेता भन्छन्, ‘पार्टी सभापति नरेन्द्र सिंहबाहेक कुनै पनि प्रभावशाली नेता जिल्लामा देखिएका छैनन् । आलेका पक्षमा मतदाता ध्रुवीकरण गर्न सक्ने कांग्रेस नेताहरू सक्रिय नहुँदा गठबन्धनलाई समस्या देखिएको हो ।’

डोटीको प्रदेशसभाका दुई क्षेत्रमध्ये १ मा बढी मतदाता छन् । जुन क्षेत्रका स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का हुन् । उनी डोटी उद्योग वाणिज्य पूर्वअध्यक्ष एवम् सामाजिक अभियन्तासमेत हुन् । गठबन्धनका आले प्रदेश क्षेत्र २ का हुन् । यो निर्वाचनमा एमालेकी गौरीभन्दा स्वतन्त्रका नरेन्दका पक्षमा भेगीय र क्षेत्रीय नारा लागेको पाइन्छ । कांग्रेसको ‘गढ’ मानिने प्रदेशसभाको १ मा जिल्लाको कुल मतदाता १ लाख २४ हजार ८ सय ७० मध्ये ६८ हजार १ सय ८८ मतदाता छन् । यो क्षेत्र कांग्रेसको गढ पनि हो । यस क्षेत्रका अधिकांश मत स्वतन्त्र उम्मेदवारलाई जान सक्ने सम्भावना बढी रहेको स्थानीय बुद्धिजीवीहरूको आकलन छ । यदि स्वतन्त्र उम्मेदवार खड्काले यस क्षेत्रबाट बढी मत ताने भने एमाले कि ओलीका लागि जित सहज हुन सक्ने अनुमान धेरैले गरेका छन् । तर स्वतन्त्र उम्मेदवारका पक्षधर भने कांग्रेसका ७० प्रतिशत बढी मत खड्काले ल्याउने दाबी गर्छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि यसै क्षेत्रका हुन् । अन्तिम समयसम्म गठबन्धनबाट संघका उम्मेदवारका रूपमा प्रचार गरिएका मुख्यमन्त्री भट्टले टिकट नपाएपछि उनी ढिलो गरी प्रचारप्रसारमा आएका छन् । मुख्यमन्त्रीले मुख नखोले पनि उनी नजिकका नेता कार्यकर्ताहरू निर्वाचनमा सक्रिय देखिएका छैनन् । जसले गर्दा गठबन्धनका आलेलाई झन् बढी चुनौती थपिएको छ ।

प्रेम आले

विशेष