News

टाट पल्टिन सक्छ ट्विटर, यस्ता छन खतरा

टाट पल्टिन सक्छ ट्विटर, यस्ता छन खतरा

गोपनीयता एवं नियम पालना हेर्ने उच्च अधिकारीहरूले ट्विटर छोडेपछि ‘गहिरो चिन्ता’का साथ घटनाक्रमहरू नियाली रहेको एक अमेरिकी नियामक निकायले जनाएको छ।

द फेडेरल ट्रेड कमिसन (एफटीसी)ले ट्विटरका नयाँ प्रमुख कार्यकारी इलोन मस्क ‘कानुन भन्दा माथि नभएको’ उल्लेख गरेको छ। मस्कले कर्मचारीहरू समक्ष ट्विटर पनि टाट पल्टने सम्भावनाभन्दा बाहिर नभएको बताएको समाचारमा जनाइएको छ।

गत साता मस्कले हजारौँ कर्मचारीहरूलाई बर्खास्त गर्न थालेपछि कम्पनी अस्तव्यस्त भएको बताइएको छ। ट्विटरको निलो टिकसहितको प्रमाणित खाता किन्न सक्ने व्यवस्थाले उक्त माध्यममा नक्कली खाताहरूको संख्या बढ्न सक्ने चिन्ता चुलिएको छ।

गोपनीयता सम्बन्धी प्रमुख अधिकारी डेमिअन किरन र नियम पालना सम्बन्धी प्रमुख अधिकारी मेरिआन फोगर्टीले राजीनामा दिएको विवरणहरू बिहीवार सार्वजनिक भएका थिए।

जोखिम बढाउने चिन्ता
कम्पनीका प्रमुख सुरक्षा अधिकारी ली किस्नरले पनि राजीनामा दिएको उल्लेख गरिएको छ। उनीहरूले ट्विटर छोड्नुले नियामक आदेशहरू उल्लङ्घन गर्ने जोखिम बढाउन सक्छ। प्रयोगकर्ताको डेटा बिक्री गरेका कारण यस कम्पनीलाई गत मे महिनामा १५ करोड डलर जरिवाना तिराइएको थियो। त्यस्तै गोपनीयताका नयाँ नियमहरू पालनाका निम्ति सहमति जनाउनु परेको थियो।

‘हामी गहिरो चिन्ताका साथ ट्विटरमा भइरहेका हालैका घटनाक्रमहरू पच्छ्याइरहेका छौँ’ एफटीसीका सार्वजनिक मामिला निर्देशक डगलस फराले भने. ‘कुनै पनि प्रमुख कार्यकारी वा कम्पनी कानुनभन्दा माथि छैन र कम्पनीहरूले हाम्रो सहमतिको निर्णय पालना गर्नुपर्छ।’

फरअरले एफटीसीसँग ‘नियम पालन सुनिश्चित गर्न नयाँ पद्धतिहरू रहेको र तिनको प्रयोग गर्न तयार रहेको’ बताए। गत मे महिनामा ट्विटरले लक्षित विज्ञापनहरू बेच्ने कार्यमा सघाउ पु¥याउन प्रयोगकर्ताहरूको डेटा अवैध रूपमा प्रयोग गरेको आरोप साम्य पार्न जरिवाना तिरेको थियो।

जरिवानाका अतिरिक्त यस कम्पनीले नयाँ नियमहरू पालना गर्न सहमत हुनुपरेको थियो र यसअघि कम्पनी छोडेका कार्यकारीहरूको निरीक्षणमा थप प्रभावकारी गोपनीयता र सुरक्षा कार्यक्रमहरूलाई लागू गर्नु परेको थियो।

पदभार ग्रहण गरेपछि मस्कले पूर्व प्रमुख कार्यकारी पराग अग्रवाल र अन्य उच्च व्यवस्थापकहरूलाई बर्खास्त गरेका छन्। लगत्तै कम्पनीका विज्ञापन तथा मार्केटिङ प्रमुखहरूले पनि छोडेपछि ट्विटरसँग नियमहरू पालना हुन्छ कि हुँदैन भन्ने कुरा निरीक्षण गर्न समेत जनशक्ति पर्याप्त नहुने चिन्ता बढेको छ।

पैसाको चिन्ता
केही ठुला विज्ञापनदाताहरू मस्कले ट्विटरलाई डो¥याइ रहेको दिशाबाट चिन्तित छन्। ट्विटरले आफ्नो अधिकांश आम्दानी विज्ञापनमार्फत गर्छ तर केही ठुला विज्ञापनदाताहरूले मस्कले ल्याइरहेका परिवर्तनहरूको मूल्याङ्कन गरिरहँदा लगानी रोकेका छन्।

चिपोट्ले मेक्सिकन ग्रिलले ‘नयाँ नेतृत्व अन्तर्गत ट्विटरले लिइरहेको दिशाबारे आफूले राम्रोसँग बुझेकाले’ ट्विटरबाट आफूले शुल्क तिरेको र आफ्नो स्वामित्व रहेको सामग्री निकालेको जनाएको छ।

लगत्तै जनरल मोटर्स, फोक्सवागन, आउडीजस्ता गाडी कम्पनी, औषधिजन्य उत्पादक फाइजर, खाद्य उत्पादक जनरल मिल्स सहित अन्य ब्रान्डहरू पनि जोडिए। केही ब्रान्डहरू मस्कले सामग्री सन्तुलनका नियमहरू खुकुलो बनाउने र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत विवादास्पद व्यक्तित्वहरूमाथि लगाइएको प्रतिबन्ध उल्टाउनेबारे चिन्तित छन्।

मस्कले कम्पनीको बैठकमा कर्मचारीहरूलाई कम्पनीको भविष्यको वित्तीय गतिविधि निश्चित नभएको र टाट पल्टने सम्भावनाबारे पनि बताए। यसबारेमा ट्विटरको प्रतिक्रिया लिन सम्पर्क गरिएको थियो। तर, न्यूयोर्क टाइम्सले जनाए अनुसार कम्पनीले कर्मचारी कटौती गरेपछि सञ्चार विभाग अत्यधिक प्रभावित भएको छ।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।

विशेष