News

हर्क साम्पाङप्रति ओलीको ब्यंग्यः कतिवटा घैला बोकुन्, बिचरा!

हर्क साम्पाङप्रति ओलीको ब्यंग्यः कतिवटा घैला बोकुन्, बिचरा!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानका मेयर हर्क साम्पाङलाई ‘कतिवटा घैला बोकुन्, बिचरा! कसको घरमा खानेपानी पु-याउन्’ भन्दै ब्यंग्य गरेका छन् ।

धरानमा मेयरमा हर्क साम्पाङलाई जिताएकोमा धरानबासीलाई कटाक्ष गर्दै ओलीले जिताउने बेलामा आँखा नदेख्ने अहिले गुनासो गरेर के हुन्छ भन्दै जवाफ दिए । 

चुनावी सभालाई सम्बोधनका लागि शुक्रबार धरान पुगेका ओलीले भने– ‘यहाँको खानेपानीको कुरा, अब यहाँका मेयरलाई ‘खानेपानी ले’ भनेर, कतिवटा घैला बोकुन्, बिचरा! कसको घरमा खानेपानी पु-याउन्। यहाँ त राष्ट्रिय बजेट, राष्ट्रिय योजना चाहिन्छ।’

नगरको वजेटले धरानको खानेपानीको समस्या समाधान नहुने पनि उलने वताए । ‘अब नगरको बजेटले त्यो आयोजना हुन्छ त? नगरको बजेटले त्यो हुँदैन। म केही भन्दिनँ अब, छान्ने बेलामा आँखा देख्नुभएन। अहिले भनेर हुन्छ?’ उनले भने–‘धरानलाई पानी खुवाउने राष्ट्रिय योजनाका लागि एमालेको सरकार चाहिन्छ।’

उनले एमालेले कोशीको पानी पम्पिङ गरेर धरानवासीलाई पानी खुवाउने दावी पनि गरे। ओलीले भने– ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर धरानलाई पानी खुवाउँछ, एमालेले। तपाईंहरु ढुक्क हुनुस।’

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा साम्पाङले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए। कांग्रेस उम्मेदवार किशोर राईले १६ हजार ५९ र एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत पाउँदा साम्पाङले २० हजार ८२१ मत ल्याएर विजयी भएका थिए।

ओलीले सुनसरी १ का बागी उम्मेदवार बनेका मनोज मेन्याङबोप्रति पनि आक्रामक अभिब्यक्ति दिएका छन् । अन्तमा गएर पार्टीले समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न उनले चेतावनी दिए । ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने। दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने’– उनले भने।

मेन्याङबोप्रति आक्रामक बनेका ओलीले एमालेको समर्थनमा उम्मेदवार वनेका जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईको भने प्रसंशा गरे । नेकपा एमाले छाड्दा अशोक राईको सम्भावना सकिएको भए पनि अहिले एमालेसँग मिलेपछि फेरि सम्भावना सुरु भएको ओलीले बताए ।

विशेष