News

मतदानको दिन यस्ता सवारी सधानलाई चाहिँदैन पास

मतदानको दिन यस्ता सवारी सधानलाई चाहिँदैन पास

निर्वाचन आयोगले मतदानको दिन मंसिर ४ गते कतिपय सवारी साधनलाई पास नचाहिने ब्यवस्था गरेको छ। 

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पास नचाहिने भएको छ।

यसैगरी, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पास नचाहिने ब्यवस्था मिलाईएको छ।

यसैगरी, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधनलाई पासको आवश्यक्ता पर्ने छैन।

यस्तै, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन मतदानका दिन निर्वाधरूपमा सञ्चालन हुन पाउने छन्।

यस्ता सवारी साधानमा मतदाता ओसारपसार गर्न भने नपाइने आयोगले जनाएको छ। 

विशेष