News

शाहरूख खानलाई किन राखियो एक घण्टा हिरासतमा?

शाहरूख खानलाई किन राखियो एक घण्टा हिरासतमा?

बलिउड अभिनेता शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआईयू) को सूत्रका अनुसार शुक्रबार राती शाहरुख शारजाहबाट भारत फर्कँदै थिए ।


उनको साथमा महंगो घडी र त्यसको कभर समेत थियो जसको मूल्य १८ लाख भारु बताइएको छ । यो घडीको लागि शाहरुखले ६ लाख ८३ हजार भारु भन्सार शुल्क समेत तिर्नुपर्‍यो ।

शाहरुख नीजि चार्टर्ड विमानबाट शुक्रबार मध्यरात मुम्बईमा पुगेका थिए । टी(३ टर्मिनलमा शाहरुखलाई राती करिब १ बजे भन्सारको रेड च्यानल पार गर्ने समयमा भन्सार अधिकारीहरुले शाहरुख र उनको टीमलाई रोकेको थियो ।


उनको ब्यागको जाँच गर्दा बबुन र जरबिके घडी, रोलेक्स घडीका ६ डिब्बा, स्प्रिट ब्रान्डको घडी र एप्पल सिरिजका घडी भेटिएका थिए । घडीको खाली बाकस पनि भेटिएको थियो ।

एक घण्टासम्म चलेको सोधपुछपछि शाहरुख र उनकी म्यानेजर पूजा ददलानलाई छाडिएको थियो भने उनका अंगरक्षक रवि र टीमलाई रोकिएको थियो । बडिगार्डले नै भन्सार शुल्क तिरेको जनाइएको छ ।

भन्सार प्रक्रिया शनिबार बिहान ८ बजेसम्म चलेको थियो । प्रक्रिया पुरा भएपछि रविलाई भन्सार अधिकारीले छाडेका थिए ।

शाहरुख खान ११ नोभेम्बरमा युएईको एक्स्पो सेन्टरमा पुगेका थिए । सन् २०११ मा पनि शाहरुखलाई भन्सार अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

शाहरुख खान नियन्त्रणमा

विशेष