News

चिनियाँ कम्पनीले चलखेल गरेर यसरी हत्यायो फास्ट ट्रयाकको छैठौँ प्याकेज

चिनियाँ कम्पनीले चलखेल गरेर यसरी हत्यायो फास्ट ट्रयाकको छैठौँ प्याकेज

ठेक्का प्रकृयामा चलखेल गरेर काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेजको ठेक्का चिनियाँ कम्पनीलाई जिम्मा लगाईएको छ। प्राविधिक सहायक रथी कमलविक्रम शाहले हस्ताक्षर गरेर चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीलाई ठेक्को जिम्मा दिएका हुन।

टेन्डरको बीचमा काठमाडौं फास्ट ट्रयाक आयोजना प्रमुख विकास पोखरेलको सरुवा भएपछि सहायक रथी शाह पोखरेलको ठाउँमा आएका थिए । प्याकेज ६ का लागि भएको ठेक्का प्रकृयामा प्रश्ताव पेश गरेका १२ मध्ये ५ वटा कम्पनीलाई मात्रै वित्तिय प्रश्ताव खुल्ला गरिएकोमा ति कुनै पनि कम्पनीलाई नदिई त्यस वाहेकको चिनीयाँ कम्पनीलाई ठेक्का दिईएको पाईएको छ।

सो प्याकेजका लागि नेपाली सेनाले गत जेठ १८ गते टेन्डर आह्वान गरेको थियो। प्रस्ताव पेश गर्ने १२ कम्पनी मध्ये भदौ १६ गते ५ वटा कम्पनीको प्राविधिक प्रस्तावमा पास भयो। ति कम्पनीका लागि वित्तीय प्रस्ताव खुला गर्ने भन्दै सेनाले चिठी लेख्यो।

तर, प्राविधिक प्रस्ताव अस्वीकृत भएको चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले आफुमाथि अन्याय भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीलाई पनि टेन्डर प्रक्रियामा सामेल गराउन निर्देशन दिएको थियो।

पछि सेनाले उसैलाई छैठौं प्याकेजको ठेक्का दिएको पाईएको छ। सेनाले कात्तिक २१ गते इमेलबाट दिएको जानकारीमा चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी छनोट भएको जनाईएको छ। 

उक्त चिनियाँ कम्पनीले वित्तीय प्रस्ताव १८ अर्ब ७ करोड ८६ लाख रुपियाँ पेस गरेको थियो । सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पावर चाइना चेङ्दु इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २२ अर्ब १६ करोड ८४ लाख रुपैयाँ, चाइना स्टेट कन्सट्रक्टिङ्न इन्जिनियरिङ कम्पनीले २७ अर्ब ५८ करोड १ लाख तथा पोलिचाङ्दा इन्जिनियरिङ कम्पनीले ४२ अर्ब ८ करोड १४ लाख रुपैयाँ वित्तीय प्रस्ताव गरेका थिए।

यसैगरी, चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी लिमिटेड, चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनीले २० अर्ब ४६ करोड ८६ लाख तथा भारतको आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडले १९ अर्ब ९९ करोड ४९ लाख रुपैयाँको प्रस्ताव पेश गरेका थिए। 
 

विशेष