News

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने/नरहने आज टुङ्गो लाग्ने

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने/नरहने आज टुङ्गो लाग्ने

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि चर्चामा रहेकी ललितपुर–३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज टुङ्गो लाग्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। निर्वाचन आयोगको निवेदनलाई सर्वोच्च अदालतले पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नेछ । मुद्दा सुनुवाईका लागि पेशी समेत तोकिएको जनाईएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः आजै आदेश आउन सक्ने जनाईएको छ। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिइ ललितपुर–३ मा मनोनयन दर्ता गराएकी कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

आयोगको निर्णयविरुद्ध डा. कार्की सर्वोच्च अदालत गइन। न्यायाधीश डा. कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भन्दै उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो ।

त्यो आदेश त्रुटिपूर्ण भएको र त्यही दिन सर्वोच्च अदालतको अर्को इजलासबाट भएको आदेशसँग बाझिएको भन्दै निर्वाचन आयोग अन्तरिम आदेश हुनुपर्ने र आफ्नो निर्णय कायम हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएको हो ।

सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेशलाई निरन्तरता दिइ उम्मेदवारी कायम रहने आदेश गरेमा उनी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछिन्। तर, अन्तरिम आदेशलाई निरन्तरता नदिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज हुने भनी गरेको निर्णय मान्य हुनेछ । 
 

विशेष