News

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने, आयोगको दावी पुगेन (आदेशसहित)

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने, आयोगको दावी पुगेन (आदेशसहित)

सर्वोच्च अदालतले ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने फैसला गरेको छ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ । 

आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन्। आयोगले त्यस निवेदन उपर कुनै सुनुवाइ नगरी आफू विरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।

नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। कात्तिक १५ मा न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो।

विशेष